चैत्र २५ गतेबाट मोफसल टुरको तयारीमा ‘दाल भात तरकारी’ टिम

चैत्र २५ गतेबाट मोफसल टुरको तयारीमा ‘दाल भात तरकारी’ टिम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मह संचारको व्यानरमा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको सहकार्यमा निर्माण भएको नयाँ सिनेमा ‘दाल भात तरकारी’ आउँदो वर्षको बैशाख २० गतेबाट प्रदर्शनमा आउँदैछ । यो सिनेमाका गीतसंगीत अहिले निकै चर्चामा छन् । ‘दाल भात तरकारी’ सुदन केसीले निर्देशन गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो ।

केही दिनमा ट्रेलर सार्वजनिक गर्ने तयारीमा रहेको निर्माण टिमले अब प्रचार-प्रसारलाई तिव्रता दिने भएको छ । सिनेमा युनिट यही चैत २५ गतेदेखि मोफसल दौडाहामा निस्किने तयारीमा छ । ‘दाल भात तरकारी यात्रा’ नाम राखिएको टुर विर्तामोडदेखि पोखरासम्म हुनेछ । प्रस्तुतकर्ता किरण केसीका अनुसार, मोफसलका दश शहरमा सिनेमाको कन्सर्ट र पत्रकार भेटघाट कार्यक्रम हुनेछ ।

चैत २५ मा विर्तामोड, चैत्र २६ मा दमक, चैत्र २७ मा इटहरी, चैत्र २८ मा हेटौंडा, चैत्र २९ मा चितवन, चैत्र ३० मा वुटवल, वैशाख १ गते नेपालगञ्ज, वैशाख २ गते दाङ र वैशाख ४ मा पोखरामा कन्सर्ट आयोजना हुने निर्देशक सुदनले जानकारी दिए । मोफसल टुरमा हरिवंश आचार्य, किरण केसी, शिवहरी पौडेल, आँचल शर्मा, पुष्प खड्का, गायिका जुनु रिजाललगायत सहभागी हुनेछन् ।

यो सिनेमाको कथा, पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् । निरुता सिंह, वर्षा राउत, राजाराम पौडेल, प्रियंका कार्की, विल्सन विक्रम राई, यमन श्रेष्ठलगायतका कलाकारहरुको पनि सिनेमामा अभिनय रहेको छ । मित्र डि. गुरुङको सम्पादन रहेको सिनेमालाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेल र नरेन्द्र कंसाकार लगायतको लगानी रहेको छ ।