ओम विक्रमको गीतबाट राजबल्लभको अभिनयमा कमब्याक (भिडियो)

ओम विक्रमको गीतबाट राजबल्लभको अभिनयमा कमब्याक (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गायक ओम विक्रम विष्टको स्वर तथा संगीत रहेको ‘उनी आउने’ बोलको गीत सार्वजनिक भएको छ । अमेरिका बस्दै आएका अभिनेता राजबल्लभ कोईरालाले यस गीतबाट अभिनयमा कमब्याक गरेका छन् । उनको साथमा संजिता कोईरालाको अभिनय रहेको छ । गीत हेर्नुहोस् :

अभिनेता कोईरालाले गायक ओम विक्रम विष्टको गीतमा अभिनय गर्न पाउनु एउटा राम्रो अवसर भएको बताए । ‘शुरुमा म भिडियोको लागि तयार छु कि छैन जस्तो लागेको थियो । जब मैले भिडियोको कन्सेप्ट सुने, त्यसलाई मैले न्याय गर्न सक्ने अवस्था देखेँ । ओम दाईको गीतमा काम गर्न पाउनु र टीम नै राम्रो देख्दा मैले राम्रो अवसर पाएको जस्तो लाग्यो । अमेरिकामा बनाए पनि काम एकदमै राम्रो भएको देखिएको छ’, उनले भने । साथै उनले आफूलाई अमेरिकामै एक सिनेमाको अफर आएको बताए ।

‘मोडहरुमा’ एल्बममा समावेश यस गीतमा विजय शिवाकोटीको शब्द रचना रहेको छ । गीतको भिडियोलाई नवराज आचार्यले निर्देशन गरेका छन् । अमेरिकामा नै पुर्ण छायांकन गरिएको यस भिडियोका निर्देशक आचार्यले एक दशक अगाडी ‘कलिउड’ नामक नेपाली सिनेमाको निर्देशन गरेका थिए । भरत रेग्मीले सम्पादन तथा कलर ग्रेडिंग गरेको भिडिओका छायाँकार शम्भु मोक्तान हुन् ।

अभिनेता कोईरालाले ‘पर्खि बसेँ’, ‘गुरु दक्षिणा’, ‘पहिलो पहिलो माया’, ‘किन लाग्छ माया’, ‘पल’, ‘प्रितिको फुल’, ‘मसान’, ‘ऋतु’ लगायतका नेपाली सिनेमाहरुको साथै हलिउड सिनेमा ‘हाईवे टु धम्पुस’मा अभिनय गरेका छन् ।