अस्कर अवार्डका लागि नेपाली सिनेमा दर्ता गर्न अह्वान

अस्कर अवार्डका लागि नेपाली सिनेमा दर्ता गर्न अह्वान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अस्कर अवार्डको ९४औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले आवेदन खुल्ला गरेको छ । समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै अस्करमा प्रतिस्पर्धा गर्न इच्छुक नेपाली सिनेकर्मीले असोज १९ गतेदेखि कात्तिक ४ गतेभित्र कमिटीलाई सिनेमा बुझाउन आग्रह गरेको छ ।

द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेसले सन् २०२२ मार्च २७ तारिखका दिनमा अमेरिकाको लस् एन्जेल्सस्थित डल्बी थिएटरमा ९४ औं एकेडेमी अवार्डस् ‘द अस्कर’ प्रदान गरिने जनाएको छ ।

कोरोना महामारीका कारण अस्करमा सहभागिताका लागि केहि नियम परिवर्तन गरिएको छ । अघिल्ला वर्षहरुमा कुनै पनि सिनेमा हलमा रिलिज भएर हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो । तर, अघिल्लो वर्ष झैं यसपटक पनि महामारीका कारण रिलिज गर्ने समय तोकेर पनि रिलिज हुन नसकेका सिनेमाले पनि अस्करमा सहभागिता जनाउन पाउनेछन् । यसका लागि सम्बन्धित सिनेमाले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट रिलिज रोकिएको पत्र बुझाउनुपर्नेछ । त्योसँगै यसरी रोकिएका सिनेमाहरू सिनेमा हलमा नलागी अनलाइन स्थापित व्यवसायिक स्ट्रिमिङ साइट वा भिडियो अन डिमाण्डमा आएका छन् भने तिनले पनि सहभागिता जनाउन सक्ने भएका छन् ।

नेपालमा विमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेशनल फिचर फिल्म कार्यकारी समिति रहेको छ । जसमा राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, लोकेन्द्र पराजुली, राजुबिक्रम थापा, चिरञ्जीवी गुरागाँई र सामीप्यराज तिमल्सेना सदस्य रहेका छन् ।