अमेरिकाको विन्टर फिल्म फेस्टिभलमा ‘कठपुतली’लाई दुई अवार्ड

अमेरिकाको विन्टर फिल्म फेस्टिभलमा ‘कठपुतली’लाई दुई अवार्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली हरर सिनेमा ‘कठपुतली’ले अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ले दुईवटा अवार्ड जितेको छ । सेप्टेम्बर २३ देखि अक्टोबर २ सम्म चलेको फेस्टिभलमा सिनेमाले ‘बेस्ट हरर फिचर फिल्म’ र ‘इन्डी पिक्स अवार्ड’ जितेको हो ।

फेस्टिभलमा यो सिनेमा ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिसन’ विधामा छनोट भएको थियो । हरर विधातर्फ उत्कृष्ट बनेको सिनेमाले जितेको ‘इन्डी पिक्स अवार्ड’ अमेरिकाको ओटिटि प्लाटफर्ममा आधारित छ । यो अवार्ड जित्नु भनेको ‘इन्डी पिक्स’ नामक ओटिटि प्लाटफर्मले रिलिजको लागि अफर गर्नु हो । उक्त फेस्टिभलमा जम्मा चारवटा सिनेमाहरुले यो अवार्ड जितेका छन् ।

सिनेमाले दुईवटा अवार्ड जितेकोमा निर्माता पृथ्वी राना मगरले खुसी व्यक्त गरेका छन् । ‘नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय मञ्चमा लैजाने मेरो सपना अन्ततः पूरा भएको छ । यसका लागि मैले २० वर्षदेखि यात्रा सुरु गरेको थिएँ । कयौं पटक निराश पनि भए तर सिनेमा निर्माणको जोश कहिल्यै कम भएन । यो अवार्डले सिनेमा निर्माणमा थप हौसला दिएको छ’ उनले भने ।

सिनेमाका निर्देशक भिमसेन लामाले यो सफलताको लागि आफुलाई विश्वास गर्ने सिनेमाको सम्पूर्ण टिम जिम्मेवार रहेको बताए । सम्पदा मल्लको कथा, पटकथा र संवाद रहेको सिनेमामा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ । सिनेमालाई चाँडै नेपालमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ ।

सिनेमाको सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको सिनेमाको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनको स्टूडियोमा भएको हो । यो सिनेमा प्रतिष्ठित ‘हर्टल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभल’मा समेत छनोटमा परेको छ ।