धरानमा आधारभूत सिनेमा निर्माण कार्यशाला सम्पन्न

धरानमा आधारभूत सिनेमा निर्माण कार्यशाला सम्पन्न

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा निर्देशक समाजले सिनेमाकर्मी महासंघ प्रदेश १ र चलचित्र विकास बोर्डसँग सहकार्यमा गरेको आधारभूत सिनेमा निर्माण कार्यशाला शनिबार सकिएको छ ।

धरानको हरियाली सामुदायिक वनको सभाहलमा ५ दिनसम्म चलेको कार्यशालामा लेखनदेखि बजारीकरणसम्मका कक्षा सञ्चालन भएका थिए । निर्देशक समाजका महासचिव जनकदीप पराजुलीले बाराको निजगढमा गरेको कार्यक्रम बाँकी प्रदेशमा पनि विस्तार गर्ने लक्ष्य अनुरुप धरानमा कार्यशालाको आयोजना गरेको बताए ।

‘बारा निजगढमा गरेको कार्यक्रमले सिनेमार्मीबीच अत्यन्त उत्साह सञ्चारित भएको महसुस गर्यौँ । हामीले यस्ता कार्यक्रममार्फत सिधै सिनेमाकर्मी तयार गर्नेभन्दा पनि यो विधामा थप अध्ययनका लागि उत्प्रेरित गर्ने उद्देश्य राखेका छौँ,’ उनले भने, ‘दुवै प्रदेशमा जति पनि सहभागी हुनुभएको छ, उहाँ भोक लिएर जानु भएको छ । यसले कालान्तरमा समग्र प्रदेशलाई फाइदा गर्न भन्ने हाम्रो विश्वास छ ।’

सिनेमाकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले मोफसलका सिनेमा र सिनेमाकर्मीको अस्तित्व दरिलो बनाउने अभिप्रायले कार्यशालाको आयोजना गरिएको बताए । ‘मोफसलबाट पनि भविष्यका सिनेमाकर्मी तयार गर्ने हाम्रो मुख्य लक्ष्य हो । सीप अभिवृद्धिका कार्यक्रम गर्दा सिनेमा साक्षरता बढ्ने र यसले समग्र मनोरञ्जन क्षेत्रमा प्रभाव पार्ने देखेर कार्यशालाको सुरुवात गरेका हौँ’ प्रधानले भने ।

प्रशिक्षणमा प्रदेश १ का १४ जिल्लाका ५० बढी प्रशिक्षार्थीको सहभागिता रहेको थियो । प्रशिक्षणमा नीर शाह, युवराज लामा, राजकुमार राई, प्रकाश सायमी, दीपाश्री निरौला, रक्षा सिंह राणा, भोला सापकोटा, जनकदीप पराजुली, पुरुषोत्तम प्रधान, सामीप्य तिमल्सेना आदिले विविध विषयमा प्रशिक्षण दिएका थिए ।