महिला सहभागिता नेपाली सिनेमामा किन कमजोर ?

महिला सहभागिता नेपाली सिनेमामा किन कमजोर ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा तथा सञ्चारमाध्यममा महिलाको उपस्थितिको बारेमा एक दिने कार्यक्रम आयोजना गरिएको छ । किपालय प्रडक्सनले ब्रिटिश काउन्सिलसँगको सहकार्यमा आइतबार चलचित्र विकास बोर्डको प्रेक्षालयमा कार्यक्रम आयोजाना गरिएको हो ।

आयोजित कार्यक्रममा सिनेमा तथा सञ्चारमाध्यममा महिलाको उपस्थिति तथा भूमिकाका विविध पाटोमा छलफल भएको थियो । मुख्य गरी तीन भागमा बाँडी गरिएको कार्यक्रममा अधिकांश सहभागीले सिनेमा तथा मिडिया दुवैमा महिलाको संख्या मात्र कम नभएर दुवै क्षेत्रमा उनीहरूको हस्तक्षेपकारी भूमिका पनि नभएको निष्कर्ष प्रस्तुत गरेका थिए ।

ब्रिटिश काउन्सिलले महिला दिवसको दिन ८ मार्चबाट सुरु गरी १० दिनसम्म मनाइरहेको विविधि कार्यक्रममध्ये एक दिन वुमन अफ दिन वल्र्ड फेस्टिभलअन्तर्गत सिनेमा डेको रुपमा मनाउने निर्णय गर्दै सिनेमामा महिलाको भूमिकालाई केन्द्रमा राखेर एक दिने कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको पहिलो सेसनमा ७ जना महिला सिनेमाकर्मीले निर्माण गरेका छोटा सिनेमा देखाएर तिनमाथि छलफल गरिएको थियो ।

‘महिला र उनीहरूको कथा वाचन’शीर्षक समेटिएको सिनेमा स्क्रिनिङ तथा छलफलमा सिनेमाकर्मी सपना बेलबासे, शिरिषा कुँवर र जियोन मगरसँग पुष्पा जोशीले छलफल गरेकी थिइन् । १८ वर्षभन्दा माथि र तल गरी दुई श्रेणीमा विभाजन गरी देखाएका सिनेमामा दोस्रो चरणमा १८ वर्षभन्दा मुनिका महिलाले बनाएका सिनेमा देखाएर छलफल गरिएको थियो । सो सत्रको सञ्चालन प्राधान्य योञ्जनले गरेकी थिइन् भने कर्मा इहाजोम, इहाका डोल्मा, सम्पदा सापकोटा, रोसेटे डेला रोसा तामाङ र अन्नपूर्ण देवकोटाले आफूले बनाएका सिनेमाको बारेमा धारणा राखेका थिए ।

यही सत्रमा ग्रान्टमा सिनेमा बनाइरहेका सिनेमाकर्मीले यसरी संघ संस्थाबाट आर्थिक सहयोग पाएर सिनेमा निर्माण गर्दाका अनुभव बाँडेका थिए । प्रसुना डंगोलले सञ्चालन गरेको छलफलमा प्रशंसा केसी, बर्खा राई, तोरा योङ र आकांक्षा कार्कीले आफ्नो अनुभव बाँडेका थिए । दोस्रो सत्रमा भने नेपाली सिनेमामा महिलाको चरित्र चित्रणसम्बन्धी समस्यालाई प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा पिंकी शिरिष रानाले नारीवादको आँखाबाट नेपाली सिनेमा र मिडियामा महिलाको अवस्था प्रस्तुत गरेकी थिइन् भने अभिमन्यु दीक्षितले विगतदेखि वर्तमानसम्ममा नेपाली सिनेमामा महिलाको प्रतिनिधित्वको चर्चा गरेका थिए । सो सत्रमा केही नेपाली सिनेमाका प्रतिनिधि दृश्यहरू देखाउँदै तिनले समग्र नेपाली सिनेमाको अवस्था बयान गर्ने आसय व्यक्त गरिएको थियो । यो सत्रको संयोजन गौंथली इन्टरटेनमेन्टले गरेको थियो ।

कार्यक्रमको तेस्रो भागमा भने नेपाली सिनेमामा महिलाको वर्तमान अवस्था, अवसर तथा चुनौतीका विषयमा राउन्ड टेबल छलफल चलाइएको थियो । अभिनेत्री उषा रजकले सहजीकरण गरेको छलफलमा सिनेमामार्फत नारी सशक्तिकरणमा काम गरिरहेका संस्थाका प्रतिनिधिको सहभागी रहेको थियो ।

कार्यक्रममा प्लान नेपालीकी रक्षा पौडेल, निर्देशक शान्ता नेपाली, नेपाली टेलिभिजनकी वरिष्ठ कार्यक्रम निर्माता नीता सापकोटा, ओनियन सिनेमाका सह संस्थापक सुरत गिरी, नेपाल सिनेमा क्याम्पसका प्रिन्सिपल शिशिर उप्रेती, ह्युमन राइट सिनेमा महोत्सवकी बिधु माझी, युएन वुमनका रविन राई, माउन्टेन फन्डका कार्यकारी निर्देशक स्कट म्यालेनन, पत्रकार तथा समीक्षक सामीप्यराज तिमल्सेना र किपालयकी सदस्य पुष्पा जोशीको सहभागिता रहेको थियो ।