सिभिल सहकारीमा फस्यो कलाकारको ३ करोड, कलाकार संघद्धारा न्याय दिलाउन अपिल

सिभिल सहकारीमा फस्यो कलाकारको ३ करोड, कलाकार संघद्धारा न्याय दिलाउन अपिल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाबाट कलाकार समेत पीडित भएको भन्दै न्याय दिलाइदिन नेपाल चलचित्र कलाकार संघले सरकारसँग अपिल गरेको छ ।

संघले विज्ञप्ति जारी गर्दै वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, अञ्जु कारञ्जित लगायतले वचत गरेको रकम उक्त सहकारीमा फसेको र उनीहरुले उक्त संस्थाका सञ्चालक इच्छाराज तामाङ लगायतबाट असुलउपर गराउन माग गर्दै कानुनी उपचारमा गएको उल्लेख छ ।

सोही सहकारी संस्थामा भुवन चैत्य बसुन्धरा फाउन्डेसनको अक्षयकोषको रकम पनि राखिएको जानकारी दिइएको छ । उक्त संस्थाबाट बर्सेनि डेढ लाख रुपैयाँ राशीको पुरस्कार वितरण हुँदै आएकोमा सो पुरस्कार वितरणलाई पनि असर परेको उल्लेख छ ।

यस विषयमा सरकारले चासो दिएर पीडितहरुलाई न्याय दिलाउन र दोषीमाथि कानुनी कारबाही गर्न संघको माग छ । संघका अनुसार तीन अभिनेत्री र फाउन्डेसनको गरी करिब तीन करोड रुपैयाँ उक्त सहकारीमा फसेको छ ।

‘मुलुकका नागरिक एवं सिनेमाकर्मीमाथि परेको आर्थिक पीडालाई समाधान गरी न्याय दिलाउन सम्बन्धित निकायका सबै पक्षसँग हामी जोडदार अपील गर्दछौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ । सिभिल सहकारीको मुद्दा अहिले अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।