नेपाल-अमेरिका अन्तर्राष्ट्रिय सिनेमा महोत्सव जुनमा गरिने

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय सिनेमा महोत्सव जुनमा गरिने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अमेरिकाको मेरिल्यान्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल-अमेरिका सिनेमा सोसाइटीले नेपाल-अमेरिका अन्तर्राष्ट्रिय सिनेमा महोत्सवको पाँचौं संस्करणको आयोजना गर्ने भएको छ । सन् २०१७ देखि प्रत्येक वर्ष महोत्सवको आयोजना गर्दै आएका संस्थाले यस वर्षको जुन २३ देखि २६ सम्म महोत्सवको आयोजना गर्ने भएको हो ।

वासिङ्गटन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने पाँचौं अन्तर्राष्ट्रिय सिनेमा महोत्सवसका लागि विश्वभरिबाट आवेदन खुला गरिएको छ । महोत्सवसमा नेपालका फिचर सिनेमा, वृत्तचित्र , छोटा सिनेमा, एनिमेसनका साथै सबै विधाका सिनेमा प्रदर्शन गरिनेछन् । नेपालबाहेक अमेरिका, दक्षिण एसियासहित विभिन्न देशका स्वतन्त्र सिनेमा यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन् ।

गत वर्षदेखि वासिङ्गटन डीसी, मेरिल्यान्ड र भर्जिनियाका स्थानीय सिनेमाकमीलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’ अन्तर्गत प्रदर्शन हुनेछ । स्थापना कालदेखि ग्लोबल पिस सिनेमा फेस्टिभल फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुँदै आएको सिनेमाहरू यो वर्ष पनि समावेश गरिने छ ।

अन्तर्राष्ट्रिय सिनेमाकर्मीको समितिले आवेदन परेकामध्येबाट उत्कृष्ट सिनेमा प्रदर्शनका लागि छनोट गर्नेछन् । प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट सिनेमालाई विभिन्न अवार्डबाट पुरस्कृत पनि गरिनेछ । महोत्सवको अवधिमा सिनेमा, संस्कृति र नयाँ प्रविधिबारे प्यानल छलफल तथा कार्यशाला पनि आयोजना हुनेछन् । महोत्सवमा सिनेमा प्रदर्शन पछि उपस्थित निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिने आयोजकले जानकारी दिएका छन् ।

कोरोना संक्रमणका कारण २०२० को महोत्सव स्थगित भएता पनि साउथ एसियन सिनेमा फेस्टिभलको नेटवर्कमा कोसाफको आयोजना भएको थियो । सन् २०२१ को संस्करण भने भर्चुअल रूपमा आयोजना भएको थियो । २०२२ को संस्करण अनलाइन तथा भौतिक रूपमा आयोजना गर्ने आयोजकको तयारी छ ।