रंग पत्रकार जीवन पराजुलीको ‘क्लोज-अप’ सार्वजनिक

रंग पत्रकार जीवन पराजुलीको ‘क्लोज-अप’ सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रंग पत्रकार जीवन पराजुलीद्धारा लिखित नेपाली सिनेमाका केही आयाम र पात्रहरुमा आधारित पुस्तक ‘क्लोज-अप’ सार्वजनिक गरिएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गरिएको हो ।

पुस्तकलाई अभिनेत्री करिश्मा मानन्धर, निर्देशक तथा अभिनेत्रीद्वय दीपाश्री निरौला र झरना थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, निर्देशक नारायण पुरी, कवि एवं फिल्म निर्देशक राजेन्द्र शलभ लगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

सिनेमा निर्देशक तथा समीक्षक दीपेन्द्र लामाले सम्पादन गरेको पुस्तक ३ सय ६३ पृष्ठको छ । कार्यक्रममा निर्देशक राजेन्द्र शलभले पुस्तकमाथि टिप्पणी गरेका थिए । उनले ‘क्लोज-अप’ एउटा राम्रो दस्तावेज भएको बताउँदै नेपाली सिनेमालाई नजिकबाट जान्न र बुझ्न चाहनेहरुका लागि उपयोगी हुने धारणा राखे । उनले पुस्तकको अर्को भाग पनि आउन आवश्यक रहेको र छुटेका अन्य पात्रहरुका अनुभवलाई समेट्न लेखकलाई सुझाएका छन् ।

कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धरले डिजिटलको युगमा धेरै कुराहरु इन्टरनेटबाट थाहा पाउन सकिने भएपनि किताबमा जस्तो विश्वास आफूलाई अरुमा नलाग्ने बताइन् । ‘किताबको आफ्नै महत्त्व छ । आजका दिनमा पनि म विश्व सिनेमाको बारेमा जान्न किताब नै खोज्ने गर्छु । किनकि, किताबमा म वास्तविकता भेट्छु । ‘क्लोज-अप’ले पनि नेपाली सिनेमालाई थप नजिकबाट चिनाउनेछ भन्नेमा विश्वस्त छु,’ उनले भनिन् ।

निर्देशक तथा अभिनेत्री झरना थापाले ‘क्लोज-अप’ले नेपाली सिनेमाकर्मीलाई प्राण भरिदिएकोमा खुसी व्यक्त गरिन् । निर्देशक दीपाश्री निरौलाले भने ‘क्लोज-अप’लाई आफूले नेपाली सिनेमा र सिनेमाकर्मीको दस्तावेजको रुपमा लिएको धारणा राखिन् ।

यस्तै, विकास बोर्डका अध्यक्ष दाहालले ‘क्लोज-अप’लाई उत्कृष्ट र सुन्दर सुरुवातको रुपमा ब्याख्या गर्दै भने, ‘नेपाली सिनेमा पत्रकारिता सतहीमात्र भएको अवस्थामा विश्लेषणात्मक लेखसहितको पुस्तकले सिनेमा पत्रकारितालाई नयाँ ढंगबाट लैजाने विश्वास लिएको छु । पुस्तकले नेपाली सिनेमाको समग्र इतिहास र पात्रलाई समेट्न नसके पनि भोलीका दिनमा अझ फराकिलो रुपमा पुस्तक ल्याउन म लेखकलाई आग्रह गर्छु ।

पुस्तकबारे कार्यक्रममा अभिनेता उत्तम प्रधान, निर्देशकहरु नारायण पुरी, दिनेश डिसी, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल लगायतले पनि बोलेका थिए । कार्यक्रममा लेखक पराजुलीले पुस्तकमा धेरै पाटो र पात्रहरु समेटिन छुटेको भए पनि सिनेमाको इतिहास झल्किने घटना र सम्बन्धित पात्रका व्यक्तित्वलाई समेटर अरु पुस्तकहरु पनि क्रमशः लेख्दै जाने बताए ।

ठुलोपर्दा मिडियाले प्रकाशन गरेको पुस्तकलाई किताब यात्राले अनलाइन बजार व्यवस्थापन गरेको छ । यूरोपका विभिन्न देश र थाईल्यान्ड, भारत, दक्षिण कोरिया, अष्ट्रेलिया लगायतका देशहरुमा पनि सार्वजनिक गर्ने तयारी गरिएको कार्यक्रममा जानकारी दिइयो । ५९९ रुपैयाँ मुल्य रहेको पुस्तक यसै साताबाट देशभर तथा अमेजन मार्फत संसारभर उपलब्ध हुनेछ ।