फितलो कानुनले अपराधका घटना बढे : संगीता श्रेष्ठ

फितलो कानुनले अपराधका घटना बढे : संगीता श्रेष्ठ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालको कानुन फितलो भएकै कारण अपराध र अपराधीको मनोबल घट्न नसकेको र बलात्कारका घटना बढेको निर्देशक तथा समृद्धि फाउन्डेसन नेपालकी अध्यक्ष संगीता श्रेष्ठले बताएकी छन् । बलात्कार र हत्याहिंसाजस्ता जघन्य अपराधमा संलग्न अपराधीलाई हदैसम्मको कारबाही गर्न नसक्ने नेपालको कानुन किन यति कमजोर भन्दै उनले प्रश्न समेत उठाएकी छन् ।

आइतवार बलात्कार र हत्याहिंसा जस्ता जघन्य अपराधबाट बालबालिका बचाउन र फितलो नियम संशोधन गर्न मागसहित समृद्धि फाउन्डेसन नेपालको तर्फबाट राष्ट्रिय महिला आयोग र राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापन पत्र बुझाउँदै निर्देशक श्रेष्ठले समाजमा त्यस्ता अपराधी खुला रुपमा घुमिरहेकै कारण हरेक बालबालिका र महिला डर र त्रासमा बाँच्नु परेको बताइन् ।

सुन्दरहरैंचा नगरपालिकाकी १८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको घटना उपर पनि ध्यानाकर्षण गराउँदै फाउन्डेसनले आरोपमा पक्राउ परेकालाई कडाभन्दा कडा सजाय दिनुपर्ने माग गरेको छ । संगीता भन्छिन्, ‘समाजमा त्यस्ता अपराधी खुला रुपले घुमिरहेकै कारण आज हरेक बालबालिका र महिलाको स्वतन्त्र र सुरक्षित भएर बाँच्न पाउने अधिकार खोसिएको छ ।’

‘हामीले विभिन्न कार्यक्रममार्फत सरकारलाई कानुन संसोधन गर्न ध्यानाकर्षण गराउने छौँ । आम मानिसलाई समेत चेतनशील बनाउन सडक नाटक पनि गर्दैछौँ,’ श्रेष्ठले भनिन् । संगीताले सिनेमा ‘कथा काठमाडौँ’बाट निर्देशनमा डेब्यू गरेकी थिइन् । फाउन्डेसनकी अध्यक्ष श्रेष्ठले आउँदा दिनमा कानुनमा भएका कमजोरीलाई प्रस्ट्याउने गरि चेतनाको कार्यक्रम अगाडि बढाउने बताइन् ।