बुढासुब्बाको युट्युब ह्याक भएपछि हट्यो ‘ए मेरो हजुर ४’को गीत र ट्रेलर

बुढासुब्बाको युट्युब ह्याक भएपछि हट्यो ‘ए मेरो हजुर ४’को गीत र ट्रेलर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बुढासुब्बा डिजिटलको यूट्युब च्यानल ह्याक भएको छ । नेपाली सिनेमाको डिजिटल राइट्स खरिद गर्ने अग्रणी प्लेटफर्मको बुढासुब्बाको यूट्युब ह्याक हुँदा अक्र्राइभमा रहेका सम्पूर्ण कन्टेन्ट हटेका छन् ।

आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘ए मेरो हजुर ४’ले पनि बुढासुब्बाबाट प्रचार सामाग्री सार्वजनिक गरिरहेको थियो । सिनेमाका २ गीत, टिजर र ट्रेलर सबै यूट्युबबाट उडेको छ । सिनेमा प्रदर्शनको मुखमा यूट्युब च्यानल ह्याक भएर सम्पूर्ण प्रचार सामाग्री उडेपछि ‘ए मेरो हजुर ४’को टिम पनि तनावमा छ ।

बुढासुब्बाको यूट्युब च्यानलमा सिनेमाको दुई गीत, टिजर र ट्रेलर सार्वजनिक भइसकेको थियो भने चारवटै प्रचार सामाग्रीलाई लाखौं भ्यूज पाएको थियो । बिहीवार निर्माण टिम सोही च्यानलबाट सिनेमाको नयाँ गीत सार्वजनिक गर्ने तयारीमा थियो । सिनेमाको डिजिटल राइट्स बुढासुब्बाले किनेका कारण पुनः गीत, टिजर र ट्रेलर यूट्युबबाट सार्वजनिक हुनेछन् ।

तर, सिनेमा रिलिजको मुखमा लाखौं भ्यूज पाइसकेका सिनेमाका प्रचार सामाग्री यूट्युबबाट हट्दा निर्माण टिम के गर्ने र कसो गर्ने अन्योलमा देखिएको छ । झरना थापाले निर्देशन गरेको सिनेमामा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, सरोज खनाल लगायतका कलाकारको अभिनय छ ।

४० लाखभन्दा बढी सब्स्क्राइभ रहेको च्यानलमा हजारौंको संख्यामा गीत र सिनेमाहरु थिए । ती सबै ह्याकरले उडाएपछि बुढासुब्बा टिम तनावमा देखिएको छ । बुढासुब्बाको च्यानल दोस्रो पटक ह्याक भएको हो । यसअघि पनि यो च्यानल ह्याक भएर फिर्ता ल्याइएको थियो ।