निफमा आजदेखि ३८ देशका ८९ सिनेमा हेर्न मिल्ने

निफमा आजदेखि ३८ देशका ८९ सिनेमा हेर्न मिल्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आजदेखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव (निफ) को पाँचौं संस्करण सुरु हुँदैछ । नेपाल सिनेमा एण्ड कल्चरल एकेडेमीले आयोजना गरेको महोत्सव काठमाडौंको राष्ट्रियसभा गृह र पर्यटन बोर्डको हलमा चैत २१ गतेसम्म चल्ने छ ।

भौतिक रुपमा सञ्चालन हुने महोत्सवको नारा ‘विश्वभरीका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’ राखिएको छ । आज पहिलो दिन राष्ट्रिय सभागृहमा साँझ साढे ५ बजे डाक्टर पुरु लम्साल निर्देशित ‘गोरु पर्व’को प्रदर्शन गरिने छ ।

महोत्सव अवधिभर ३८ देशका ८९ वटा सिनेमा, वृत्तचित्र र एनिमेटेड सिनेमाहरू प्रदर्शन एवम् प्रतिस्पर्धा हुनेछ । ती राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा-छोटा सिनेमा, वृत्तचित्र तथा एनिमेटेड सिनेमाबीच ७ वटा विधामा प्रतिस्पर्धा हुने र उत्कृष्टताका आधारमा १४ वटा पुरस्कार वितरण गरिने निफका अध्यक्ष केपी पाठकले बताए ।

निफ महोत्सवले विश्वसामु नेपाली सिनेमाको प्रवद्र्धन गर्दै नेपाली पर्यटन लगायतका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ । गत वर्ष कोरोना महामारीका कारण भर्चुअल रुपमा निफ आयोजना गरिएको थियो ।