‘ए मेरो हजुर ४’ प्रचारमा सुहानाको बौद्धिकताको चर्चा

‘ए मेरो हजुर ४’ प्रचारमा सुहानाको बौद्धिकताको चर्चा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री सुहाना थापा अहिले आगामी बैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ए मेरो हजुर ४’को प्रचार-प्रसारमा व्यस्त छिन् । सिनेमाको प्रचारका क्रममा सुहानाले पत्रकारको प्रश्नमा दिने जवाफले उनको बौद्धिकता झल्काएको चर्चा भैरहेको छ ।

डेव्यु सिनेमा ‘ए मेरो हजुर ३’ रिलिज भएपछि सुहानाको अभिनयको निकै प्रशंसा भएको थियो । पहिलो सिनेमाबाट नै अभिनयमा दर्शक र समिक्षकको मन जितेकी सुहानाले दोश्रो सिनेमामा कस्तो अभिनय गरेकी होलिन भन्ने चर्चा सिनेमाको रिलिज नजिकिँदै गर्दा भैरहेको छ ।

सुहानाले नेपाली सिनेमा, विदेशी सिनेमासँग डराएर भाग्दैनन् भन्ने सन्देश नयाँ पुस्तालाई कलाकारले दिन सक्ने बिषयमा आफ्नो तर्क दिएकी छन् । उनले दिएको अन्तरवार्ता र तर्कले दर्शकको मन भने जितिरहेको छ । अधिकांश युट्युब च्यानलमा उनका अन्तरवार्ता हेरेका दर्शकले उनको बौद्धिकताको प्रशंसा गर्दै सुहानाको बारेमा गलत सोचेको उल्लेख गरेका छन् ।

सुहानाले ‘केजीएफ २’बाट नेपाली सिनेमाका मेकरले सिक्नुपर्छ भनेर प्रतिक्रिया दिने दर्शकलाई भनेकी छिन् – ‘तपाइहरुले हामीलाई मात्र सिक्नुपर्छ भन्नुभयो । तर, तपाइले साउथको सिनेमा हेरेर के सिक्नुभयो ? साउथको सिनेमाको आज भन्दा केही बर्ष अगाडिको भीएफएक्स हेर्नुभएको छ, कती खराब थियो । तर, खराब भीएफक्समा पनि दर्शकले ताली बजाए र आफ्ना कलाकार र मेकरलाई अगाडि बढ्न प्रोत्साहित गरे । यसैले, आज दक्षिण भारतीय सिनेमा ‘बाहुबली, आरआरआर, केजीएफ’ जस्ता सिनेमा निर्माण गर्ने अवस्थामा आइपुगेको छ । नेपाली सिनेमालाई पनि दर्शकले हौसला दिने हो भने चाँडै हामी त्यो अवस्थामा पुग्नेछौं ।’

अभिनेत्री झरना थापा निर्देशित तेस्रो सिनेमा ‘ए मेरो हजुर ४’ मा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम लगायतका कलाकारहरुको पनि अभिनय छ । सुनिल कुमार थापाले निर्माण गरेको फिल्ममा मित्र डि गुरुङको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

सिनेमाको कथा निर्देशक तथा अभिनेत्री झरना थापाले लेखेकी हुन् । सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाको पटकथा र संवाद लेखनमा निर्देशक थापालाई स्व। निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।