‘ह्रस्व-दीर्घ’मा अभिनेता सलोन बस्नेत अनुबन्धित

‘ह्रस्व-दीर्घ’मा अभिनेता सलोन बस्नेत अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीले निर्माण र अभिनय रहने सिनेमा ‘ह्रस्व-दीर्घ’मा अभिनेता सलोन बस्नेत अनुबन्धित भएका छन् । मंगलवार नीता र हरिहरले सलोनसँग कागजी सम्झौता गरेका हुन् ।

सिनेमामा सलोनको महत्त्वपूर्ण भूमिका रहने बताइएको छ । हिरोको रुपमा असफल मानिएका उनी चरित्र अभिनेताको रुपमा भने जमेका छन् । नीताले सलोनलाई सिनेमामा स्वागत गर्न पाउँदा उत्साहित भएको फेसबुकमा उल्लेख गरेकी छिन् । नीता फिल्मस्को ब्यानरमा सिनेमा निर्माण हुनेछ ।

‘ह्रस्व-दीर्घ’लाई चन्द्र पन्तले निर्देशन गर्दैछन् । द्वन्द्व निर्देशकको रुपमा परिचित उनले यही सिनेमाबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । यद्यपि, चन्द्रले भोजपुरी सिनेमा ‘निरहुआ चलल लण्डन’, ‘रण’, ‘माही’ को निर्देशन गरिसकेका छन् । चन्द्र निर्देशित भोजपुरी सिनेमामा ‘माही’ प्रदर्शनको तयारीमा छ । यो सिनेमामा अभिनेत्री नीता ढुंगानाको पनि मुख्य भूमिका छ ।

‘ह्रस्व दीर्घ’को छायांकन अर्को वर्षको असारपछि मात्र सुरु हुनेछ । नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा छायांकन हुने सिनेमा नेपाली र हिन्दी भाषामा एकसाथ निर्माण हुनेछ । ७ करोडको लागतमा बन्ने सिनेमामा बलिउडका चर्चित कलाकारको पनि अभिनय रहने बताइएको छ । सिनेमामा बसन्त अधिकारी मुख्य सहायक निर्देशकको रुपमा रहनेछन् ।