विदेशी सिनेमा प्रदर्शनमा कडाइको मागसहित विकास बोर्डमा सिनेमाकर्मी

विदेशी सिनेमा प्रदर्शनमा कडाइको मागसहित विकास बोर्डमा सिनेमाकर्मी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालमा विदेशी सिनेमाको प्रदर्शनमा कडाइ गर्नुपर्ने प्रावधान लागू हुनुपर्ने माग राख्दै विकास बोर्डमा ९ बुँदे मागपत्र बुझाइएको छ । सिनेमा निर्देशक, प्राविधिक र निर्माता गरी सय जनाभन्दा बढीको हस्ताक्षरसहितको मागपत्र आइतबार बोर्ड अध्यक्ष दयाराम दाहाललाई बुझाइएको हो ।

सिनेमा विधेयक २०७७ लाई संसदबाट अनुमोदन गरेर विकास बोर्डलाई स्वायत्त बनाउनुपर्ने र राष्ट्रिय सिनेमा नीति २०७१ लाई हुबहु लागू गर्न उच्चस्तरीय राष्ट्रिय सिनेमा नीति कार्यान्वयन तथा अनुगमन समिति गठन गर्नुपर्ने माग गरिएको छ ।

विदेशी सिनेमालाई नेपालमा प्रदर्शनको लागि कोटा प्रणाली लागू गर्नुपर्ने, विदेशी तथा नेपाली भाषामा डबिङ गरी सिनेमा रिलिज गर्ने नीतिगत निर्णय रोक्नुपर्ने, विदेशी सिनेमाको भन्सार १५ प्रतिशत कायम गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा उल्लेख छ ।

विदेशी सिनेमा प्रदर्शनलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएका सिनेमा हललाई दिएको छुट खारेज गर्नुपर्ने, विदेशी सिनेमाको सेन्सरमा कडाइ गर्नुपर्ने, नेपाली मौलिक कथामा बनेका सिनेमालाई प्रदर्शनको लागि विशेष व्यवस्था गर्न समेत माग गरिएको छ ।

‘भविष्यको चिन्ता भएका हामी सिनेमाकर्मी बोर्डमा पुगेर मागपत्र बुझाएका हौं,’ पत्र बुझाएपछि निर्देशक बस्नेतले बताए । सिनेमा निर्देशक शोभित बस्नेत, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, निर्माता उदय सुब्बा लगायतले बोर्डमा पुगेर मागपत्र बुझाएका हुन् ।