राष्ट्रिय चलचित्र पुरस्कार बितरण, ‘आमा’ उत्कृष्ट सिनेमा घोषित

राष्ट्रिय चलचित्र पुरस्कार बितरण, ‘आमा’ उत्कृष्ट सिनेमा घोषित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आइतबार चलचित्र विकास बोर्डले प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान प्रदान गरिएको छ । राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति विद्या देवी भण्डारीको प्रमुख आतिथ्यतामा २०७६/२०७७ मा प्रदर्शनमा आएका सिनेमाबाट पुरस्कार प्रदान गरिएको हो ।

अभिनेत्री सुरक्षा पन्तले ‘आमा’ सिनेमाबाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कार जितेकी छिन् । यसैगरी अभिनेता तर्फको पुरस्कार भने दीपकराज गिरीले ‘छ माया छपक्कै’ बाट प्राप्त गरे । ‘आमा’ सिनेमाले उत्कृष्ट चलचित्रको पुरस्कार पनि जित्यो भने यसका निर्देशक दीपेन्द्र के खनाल उत्कृष्ट निर्देशक ठहरिए ।

प्राविधिक विधातर्फ हरि हुमागाईँले ‘छ माया छाप्पक्कै’ बाट छायांकन विधामा पुरस्कार जिते भने सम्पादनतर्फ निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलले ‘कबड्डी कबड्डी कबड्डी’ बाट पुरस्कार प्राप्त गरे । पटकथा तर्फको पुरस्कार भने ‘जात्रै जात्रा’ का लागि प्रदीप भट्टराईले प्राप्त गरे । समारोहमा ‘जीवन काँडा कि फूल’ का लागि अवस्था थापाले जुरी पुरस्कार प्राप्त गरेकी थिइन् भने ‘रातो टीका निधारमा’ सिनेमाबाट डेव्यु अभिनेता तर्फको पुरस्कार अंकित शर्माले प्राप्त गरे ।

कार्यक्रममा भुवन चन्द र शम्भुजित बाँस्कोटालाई दीर्घ साधना सम्मान प्रदान गरियो । दीर्घ साधना सम्मानको राशि तीन लाख ५१ हजार एक सय ११ रुपैयाँ रहेको छ । भुवनलाई २०७६ र शम्भुजितलाई २०७७ सालको दीर्घ साधना सम्मान प्रदान गरिएको हो । उनीहरूलाई राष्ट्रपति भण्डारीसँगै सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, विकास बोर्ड अध्यक्ष दयाराम दाहालले संयुक्त रुपमा सम्मान प्रदान गरेका थिए ।

यही अवसरमा विकास बोर्डले विशेष योगदान सम्मानबाट विभिन्न सिनेमाकर्मीलाई सम्मान समेत गरेको छ । बोर्डले अभिनेता राजेश हमाल, अभिनेत्री गौरी मल्ल, निर्देशक शम्भु प्रधान, अभिनेत्री चैत्य देवी सिंह, अभिनेत्री गौरी मल्ल, कलाकार रवीन्द्र खड्का, नवल खड्का, निर्देशक मदन घिमिरे, कलाकार सुशान्त श्रेष्ठ, निर्मता सुशील पोखरेल, गायक राजेश पायल राई, संगीतकार सुरेश चन्द्र अधिकारीलगायतलाई सम्मान प्रदान गरिएको थियो ।