लाप्राकमा ‘नेपाल ग्रामीण सिनेमा महोत्सव’

लाप्राकमा ‘नेपाल ग्रामीण सिनेमा महोत्सव’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मंगलबारबाट गोरखा जिल्लाको दुर्गम मानिने लाप्राक गाउँमा ‘नेपाल ग्रामीण सिनेमा महोत्सव’ सुरु भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका – ४ लाप्राकमा मंगलबार सिनेमा महोत्सवको उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका गाउँपालिका अध्यक्ष सन्त बहादुर गुरुङले गाउँमा सिनेमा महोत्सव हुँदा खुशी लागेको भन्दै महोत्सवले गाउँको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास ब्यक्त गरे । महोत्सवमा गुरुङ सिनेमा ‘फुङ’बाट प्रदर्शनी सुरुवात गरिएको थियो । त्यस्तै, मंगलबार स्थानीयसँग ग्रामीण सिनेमा सम्बन्धि अन्तरक्र्रिया समेत गरिएको छ ।

बुधबारसम्म चल्ने महोत्सवमा विभिन्न भाषामा बनेका अन्य सांस्कृतिक सिनेमा, वृत्तचित्र, सर्टमुभी र फिचर सिनेमासमेत प्रदर्शन गरिने आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले बताए । कलाकार रबिन्द्र खड्का, लेखक एवं निर्देशक शिवम अधिकारी, सम्पादक शिव पुरी, साउन्ड एडिटर किशोर आचार्य, पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदी महोत्सवको जुरी टिममा रहेका छन् ।

जुरी टिमले छनोट गरेका उत्कृष्ट ९ विधामा अवार्ड समेत वितरण गर्दै महोत्सव सकिनेछ । नेपाल चलचित्र विकास वोर्डसँगको सहकार्य रहेको महोत्सवको सह-आयोजकमा ‘भ्वाइस अफ नेपाल म्युजिक इण्डष्ट्रिज’ रहेको छ । महोत्सवमा काठमाडौंबाट गजित विष्ट, पनाह अधिकारी, छिरिङ भुटीया लगायतका फिल्मकर्मीहरु लाप्राक पुगेका छन् भने स्थानीयहरुको उत्साहजनक उपस्थिति छ ।

नेपाली मौलिक सिनेमा, सिनेमाकर्मी र स्थानीय पर्यटकीय स्थलको प्रचार-प्रसार तथा प्रवद्र्धन गर्नु, नेपाली आम दर्शकलाई नेपाली मौलिक सिनेमाप्रति आकर्षित गराउनु र नियमित सिनेमा हेर्ने बानी बसाल्नु, नेपाली समाजका मौलिकता बोकेका र ग्रामीण कथामा बनेका सिनेमालाई स्वदेशी तथा विदेशी दर्शकमाझ पुर्याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको सेलिब्रेटी नेपालले जानकारी दिएको छ ।