विवाह बन्धनमा बाँधिइन् अभिनेत्री केकी अधिकारी

विवाह बन्धनमा बाँधिइन् अभिनेत्री केकी अधिकारी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री केकी अधिकारी बिहीवार विवाह बन्धनमा बाँधिएकी छन् । उनले बुधवार नै विवाह गरेको खबर बाहिरिएको थियो । तर, बुधवार उनको मेहेन्दी सेरोमनी मात्र भएको थियो । बिहीवार उनले हिन्दू परम्पराअनुसार रोहित तिवारीसँग लगनगाँठो कसेकी हुन् । उनले फेसबुकमा विवाहका तस्विरहरु समेत सार्वजनिक गरेकी छन् ।

केकी र रोहितको विवाह समारोहमा दुई पक्षका परिवारका सदस्यको उपस्थिति रहेको थियो भने केकीको तर्फबाट उनका केही अति नजिकका साथीहरु विवाहमा सहभागी भएका थिए । रोहित तिवारी हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह-संस्थापक तथा सीइओ हुन् ।

केकीले विवाहको तस्विर सार्वजनिक गर्दै लेखेकी छन्, ‘आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु । कलाकारका रूपमा मेरा हरेक उतार-चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसँग मेरो विवाहको शुभ समाचार बाँड्न पाउँदा हर्षित छु । जीवनको नयाँ अध्याय सुरू गर्दै गर्दा म र मेरो जीवन साथीले उपहार स्वरुप यहाँहरूको आशिर्वादको अपेक्षा गरेका छौँ । यहाँहरूको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा विश्वस्त छौँ ।’

विवाह निकै गोप्य राखिएको थियो । आफैंले सामाजिक सञ्जालबाट विवाहको जानकारी दिने भनेर केकीले बिहेको मिति र स्थान खुलाएकी थिइनन् । रोहितसँग उनी केही समयदेखि प्रेममा थिइन् ।