नेपाल भित्रिए दुई रियालिटी शो ‘मेरो डान्स र भ्वाइस कप युएसए’

नेपाल भित्रिए दुई रियालिटी शो ‘मेरो डान्स र भ्वाइस कप युएसए’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अमेरिकामा बस्ने नेपाली समुदायका लगानी रहने दुई रियालिटी शोहरु ‘मेरो भ्वाइस कप यूएसए’ र ‘मेरो डान्स कप युएसए’ अब नेपालमा पनि आयोजना हुने भएका छन् ।

बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै यसबारे जानकारी दिइयो । चौथो संस्करणमा रहेको ‘डान्स कप’ र दोस्रो संस्करणमा रहेको ‘भ्वाइस कप’को अहिले अमेरिका र क्यानडा लगायतका देशमा अडिसन भइरहेको छ । टप १२ मा छनोट भएका प्रतिस्पर्धीले नेपाल आएर आफ्नो प्रस्तुति दिने भएका छन् ।

दुबै कार्यक्रमको ग्रान्ड फिनाले भने अमेरिकामा हुने जनाइएको छ । ‘मेरो डान्स कप युएसए’को निर्णायकमा कलाकारहरु मिथिला शर्मा, दीलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी, शंकर विसी र नमन राई छन् । त्यस्तै, ‘मेरो भ्वाइस कप यूएसए’को निर्णायकमा दीपक जंगम, सुरेश अधिकारी, शिव परियार, पुष्पन प्रधान, मुस्कान मगर, सुजता बर्मा र अर्जुन पालिखे छन् । दुवै कार्यक्रम ग्यालेक्सी फोरके टेलिभिजनबाट प्रशारण हुने जनाइएको छ ।

दुवै प्रतियोगिताको प्रथम विजेतार्ले याभफोर कार, दोस्रोले गोल्डेन कप र तेस्रोले सिल्भरकपसँगै नगद राशी र गिफ्ट पाउने आयोजक संस्था इन्ट्रानेशनल वेयलफेयर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाका सचिव गोपाल धितालले जानकारी दिए । तेस्रो मुलुकमा रहेका नेपाली भाषीको नेपाली गीत, संगीतप्रतिको माया र सम्मानलाई अझ सशक्त रुपमा प्रस्फुटन गर्न र नेपाली भाषी भएको प्रतिभालाई उजागर गर्न यी दुई रियालिटी शो आयोजना गरिएको उनको भनाई छ ।

‘मेरो डान्स कप’लाई सुदीप सिग्देल र सुनिता गुरुङले सञ्चालन गर्नेछन् भने ‘मेरो भ्वाइस कप’को होस्ट सन्दिप क्षेत्री र रीमा विश्वकर्माले गर्ने भएका छन् । दुवै रियालिटी शोको निर्देशन भने एलिन श्रेष्ठले गर्नेछन् । निर्देशक श्रेष्ठले नेपालमा दुवै रियालिटी शोको छायांकन गर्नका लागि अहिले सेट निर्माणको काम भइरहेको जानकारी दिए ।

‘मेरो डान्स कप’को निर्णायकमध्ये एक इन्ट्रानेशनल वेयलफेयर एन्ड सपोर्ट फाउन्डेशन नेपालका अध्यक्ष दीलिप रायमाझीले नेपालभन्दा बाहिर बस्ने नेपालीलाई नेपाली कला, संस्कृतिसँग जोडिराख्न यी दुई रियालिटी शोले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

‘भ्वाइस कप’को निर्णायकमध्ये एक दीपक जंगमले नेपाली भाषा, कला र संस्कृतिलाई एक सुत्रमा बाँध्ने रियालिटी शोमा आफू आबद्ध हुन पाएकोमा खुशी व्यक्त गरे । विदेशमा जन्मे हुर्केका नेपालीलाई नेपाली भाषा, कला, संस्कृतिको जागरण फैलाउन ‘मेरो डान्स’ र ‘मेरो भ्वाइस कप’ले महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

‘भ्वाइस कप’का अन्य दुई निर्णायक सुरेश अधिकारी र शिव परियारले पनि कला, संस्कृतिलाई बचाउने रियालिटी शोमा आबद्ध हुन पाएको खुशी व्यक्त गरेका छन् ।