‘द बास्केट’ जित्यो जातीय विभेदविरुद्ध लघु सिनेमा प्रतियोगिता

‘द बास्केट’ जित्यो जातीय विभेदविरुद्ध लघु सिनेमा प्रतियोगिता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाल चलचित्र निर्देशक समाजले कानुन मन्त्रालय र यूएनडीपीसँग मिलेर गरेको जातीय विभेदविरुद्ध लघु सिनेमा प्रतियोगिता ‘द बास्केट’ले जितेको छ । चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा जातीय विभेदलाई निरुत्साहित गर्ने भाव समेटिएको बशिष्ठ निर्देशित सिनेमा २ लाख रुपैयाँ नगदसहित पुरस्कृत भएको हो ।

दर्शकले पनि मत दिनेगरी प्रतियोगितामा सहभागिताका लागि आएका ५६ सिनेमा मध्ये २० सिनेमा लाई आयोजकले सामाजिक सञ्जालमा उपलब्ध गराएका थिए । यसरी दर्शकको ५० प्रतिशत अंकभार र जुरीको ५० अंकभार जोडेर चार विजेता छनोट गरिएको हो ।

जुरीले सर्ट लिस्ट गरेका २० सिनेमा बाट सुरेन्द्र प्रजापतिको ‘शून्य’ दोस्रो भएको छ भने राजेश श्रेष्ठको ‘नयाँ जुत्ता’ले तेस्रो स्थान हासिल गरेको छ । शर्मा क्रिएसनको ‘अछोप’लाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । विजेता चार सिनेमासँगै निर्णायकले छानेका १६ सिनेमाका सहभागीलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

निर्देशक समाज र यूएनडीपीले जातप्रथा र यसको उन्मूलनका उपाय समेटिएका कथा तीन मिनेटभित्रमा प्रस्तुत गर्नुपर्ने गरी गत डिसेम्बरमा सूचना प्रकाशित गरेका थिए । कानुन मन्त्रालयका सहसचिव फणिन्द्र गौतम, वरिष्ठ निर्माता, निर्देशक तथा कलाकार नीर शाह, निर्देशक समाजका महासचिव जनकदीप पराजुली, कलाकार लक्ष्मी बर्देवा लगायतको निर्णायक मण्डलले प्राप्त ५६ सिनेमाबाट २० सिनेमा छानेका थिए ।

प्रतियोगितामा दोस्रो हुनेले १ लाख ५० हजार, तेस्रो हुनेले ५० हजार र चौथो हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।