लन्डनमा ५ दिने ‘सिनेमा महोत्सव’ आयोजना हुने

लन्डनमा ५ दिने ‘सिनेमा महोत्सव’ आयोजना हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काटमाडौं – थर्ड आईको आयोजनामा बेलायतको राजधानी लन्डनमा ५ दिने ‘ सिनेमा महोत्सव’ आयोजना हुने भएको छ । शनिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यो महोत्सवको नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्मस्का अध्यक्ष मनोजक केसीले ५ दिनसम्म १० वटा सिनेमा प्रदर्शन गरिने जानकारी दिए ।

थर्ड आईका प्रमुख विकास देवकोटाको सक्रियतामा आयोजना हुन लागेको महोत्सवमा नेपालबाट करिब ३ दर्जन सिनेमाकर्मी, पत्रकार, विज्ञापनदाता तथा विभिन्न क्षेत्रका मानिस सहभागी हुनेछन् । मनोज केसीका अनुसार, महोत्सवको अन्तिम दिन सिनेमाकर्मीलाई सम्मानितसमेत गरिनेछ ।

महोत्सव भदौको अन्तिममा हुने आयोजकले जानकारी दिएको छ । यसका लागि तयारी सुरु भइसकेको बताइएको छ । आयोजकले अब महोत्सवमा प्रदर्शन गरिने सिनेमाको छनोट प्रक्रिया सुरु गरिएको बताएको छ । युट्युबमा नआएका, विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण नभएका तर हलमा मात्र रिलिज भएका सिनेमा मध्येबाट १० वटा सिनेमालाई महोत्सवमा सहभागी गराइनेछ ।

थर्ड आईका नेपाल च्याप्टर अध्यक्ष हरि सिलवालले फेस्टिभललाई सभ्य र भव्य बनाउने गरी तयारी भइरहेको जानकारी गराएका थिए । ‘विदेशमा हुने नेपाली कार्यक्रम अपेक्षानुरुप हुने नगरेको इतिहास छ । हामी यो कार्यक्रममा त्यो इतिहास बदल्ने प्रयास गर्छौँ,’ उनले थपे, ‘यसै गरी देशबाहिर कार्यक्रम गर्दा आयोजकले मानिस अवैधानिक रुपमा छाड्ने गरेको पनि गुनासो छ । हामीले त्यसो गरेको पाइएमा जे सजाय पनि भोग्न तयार छौँ ।’

कार्यक्रमको घोषणा सभा वरिष्ठ कलाकार निर शाह, अभिनेत्री करिश्मा मानन्धर, निरुता सिंह, अभिनेता सरोज खनाल लगायतले शुभकामना दिएका थिए । कलाकार नीर शाहले यस्तो खालका कार्यक्रमले नै विश्व बजारमा नेपाली सिनेमा पुग्ने विश्वास व्यक्त गरेका थिए ।