‘१० औँ नेपाल अफ्रिका सिनेमा महोत्सव’ राजधानीमा सुरु

‘१० औँ नेपाल अफ्रिका सिनेमा महोत्सव’ राजधानीमा सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काटमाडौं – जमलस्थित राष्ट्रिय नाचघरमा आइतबार ‘१० औँ नेपाल अफ्रिका सिनेमा महोत्सव-२०२२’ सुरु भएको छ । महोत्सवमा नेपालसहित १५ देशका २६ सिनेमा सहभागी छन् । जसमध्ये नेपालबाट १२ र विदेशबाट १४ वटा रहेका छन् । यो महोत्सव मंगलबारसम्म नाचघरमा जारी रहने छ ।

महोत्सवको उद्घाटन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले अफ्रिकाजस्तै पछाडि परेको महादेशबाट विगत १० वर्षदेखि सिनेमा संकलन गरेर नेपालमा यो फेस्टिभल आयोजना गर्नु सराहनीय कार्य रहेको बताए ।

आयोजक संस्थाकी अध्यक्ष तथा फेस्टिभल संयोजक डाक्टर मञ्जु मिश्रले आर्थिक र सांस्कृतिक रुपमा उस्तै भएको नेपाल र अफ्रिकाको सिनेमा संस्कृति आदान प्रदानकै लागि एक दशकदेखि आफूहरूले यो महोत्सव आयोजना गर्दै आएको बताइन् ।

प्रतिनिधि सभाकी सांसद मन जिसीले नेपाल र अफ्रिकाको संस्कृति आदानप्रदानको लागि यो महोत्सव निकै उपयोगी हुने गरेको बताइन् । फेस्टिभल निर्देशक डब्बु क्षत्रीले कोरोना महामारीका कारण फेस्टिभलमा विगत र यसपटक केही असर परेको भए पनि आगामी वर्षबाट यसलाई अझ भव्य रुपमा आयोजना गर्ने बताए ।

सिनेमाकर्मी तथा पत्रकार आलोक तिवारी, पत्रकार ओमप्रकाश घिमिरे, गायक अलिप खान, गायिका सुजता केसी, निर्देशक कल्याण अधिकारी, सुजन तिमिल्सिना, बिना रानामगर, कञ्चन श्रेष्ठ, डिना थापामगर, सरस्वती पान्डे हमाल, प्रीति सोनी शाह, शुभद्रा देवी उदास, शोभा महर्जन, मुना थापामगर, शकुन्तला अवाले, शुभद्रा राई, रञ्जिता थापा र रमा गुर्मछान सम्मानित भए ।

महोत्सवको निर्णायकमा संगीतकार जुगल डंगोल, अभिनेता प्रवण भुषाल, प्रेम पाण्डे, सागर घिसिङ, कोरियोग्राफर अजय स्याङतान, म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष विधान कार्की र पत्रकार कुवेर गिरी छन् ।

महोत्सवमा आइतबार बुर्किना फासोको फिचर सिनेमा ‘आई अफ द साईलोन’, ऋषिराज आचार्यको छोटो सिनेमा ‘राईज’, देवेन्द्र खत्रीको छोटो सिनेमा ‘द डेलिभरी’, क्यामरुनको वृत्तचित्र ‘लेस मेलोडियस डु मओए’, अल्जेरियाको ‘ला चेम्बर’ र ‘मोरक्कोको घोष अफ स्पेश टाईम’ पनि प्रदर्शन गरियो ।