मिरुनामाथि दुर्व्यवहार आरोपमा पक्राउ परेका लामा धरौटीमा रिहा

मिरुनामाथि दुर्व्यवहार आरोपमा पक्राउ परेका लामा धरौटीमा रिहा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काटमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘बकड्डी ४’ले बक्सअफिसमा बम्पर ब्यापार गरिरहेको छ । आइतबार काठमाडौं सिभिल मलमा कबड्डी ४ टिम दर्शकसँग साक्षत्कार गर्न पुगेको थियो । सोही क्रममा फुर्वा तामाङले अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेका थिए ।

त्यस लगत्तै अभिनेत्री मगरले थप्पड हान्नुका साथै प्रहरीको जिम्मा लगाएकी थिइन् । आइतबार २४ वर्षीय फुर्वा तामाङलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेका बौद्ध भिक्षु फुर्वाको रिहाईको माग गर्दै मंगलबार चुच्चेपाटीस्थित केएल टावर अगाडी तामाङ पक्षधरले प्रदर्शन गरेका थिए ।

मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामालाई रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए । तामाङलाई तीन हजार रुपैयाँ धरौटीमा छाडिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

घटनाको बिषयमा यसो भन्छिन् अभिनेत्री मिरुना मगर

हलमा धेरै नै भीड थियो । भीडमा छुने त भइहाल्छ नै । तर, त्यहाँ म फ्यानहरुसँग अगाडि फर्किएर सेल्फी खिचिरहेको थिएँ । त्यसबेला मलाई पछाडि कसैले छोएको महसुस भयो । म झस्किएँ र अलिकता अगाडि सरेँ । दोस्रो चोटी पनि यस्तै भयो । तेस्रो पटक चाहिँ मलाई कसैले ‘दुव्र्यवहार’ नै गरेको महसुस भएपछि मैले थप्पड हानेको हुँ ।

ती व्यक्तिलाई भिक्षुको भेषमा देखेपछि मलाई झनै रिस उठ्यो । किनकि, म पनि बुद्धिष्ट हो । हेर्दा मभन्दा उमेरले सानो लागेपछि सबैको अगाडि कराएँ पनि । त्यसबेला मैले कलाकारको रुपमा नभइ मानव भएको हिसाबले आफूमाथि भएको ‘दुर्व्यवहार’को प्रतिवाद गरेँ । उसले मसँग माफी पनि माग्यो । मैले उसलाई छाड्न पनि खोजेको थिएँ । तर, पछि म आफैंलाई लाज लाग्यो । किनकि, त्यहाँ सबैले भिडियो रेकर्ड गर्नुभएको थियो । बाहिर निस्किएर म रोएँ पनि । आफैंलाई कमजोर महसुस गरेँ । त्यो व्यक्ति हाँसीखुशी बाहिर रमाइरहेको देखेपछि मेरो चित्त बुझेन र मैले कानुनको सहायता लिनुपर्छ भन्ने लागेर प्रहरीको जिम्मा लगाएँ ।

अहिले मेरोबारेमा विभिन्न खाले टिका-टिप्पणी भइरहेका छन् । मेरो चरित्रमाथि समेत प्रश्न उठाइएको छ । भिडियोमा सानो क्लिप्स हेरेको भरमा मलाई गालीगलौज गरिएको छ । भिडियोमा मैले उहाँ भिक्षुलाई कराइरहेको मात्र देखिएको छ, त्यसैले ममाथि गालीगलौज भएको होला । मलाई थ्रेट पनि आएको छ ।

यो केश कानुनी रुपमा अगाडि बढोस् भन्दा पनि यो घटनाबाट उस (बौद्ध भिक्षु) ले लेसन सिकोस् भन्ने लाग्छ । यस्तो घटना कसैमाथि नदोहोरियोस् र उसले पनि भोलीका दिनमा यस्तो कसैलाई नगरोस् । भिडियोमा आधी कुरा मात्र हेरेर एकतर्फी धारणा बनाउनु राम्रो होइन । जतिले पनि मलाई गाली गरिरहनुभएको छ, तपाईंहरुको दिदी-बहिनीलाई यस्तो भएको अवस्थामा आवाज उठाउनु पर्छ भनेर सिकाउनुहोला ।