भिक्टोरिया क्रस कुलवीरको कथामा ‘गोर्खा : बिनिथ द ब्रेभरी’

भिक्टोरिया क्रस कुलवीरको कथामा ‘गोर्खा : बिनिथ द ब्रेभरी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – वास्तविक कथामा आधारित सिनेमा ‘गोर्खा : बिनिथ द ब्रेभरी’ निर्माण भएको छ । गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको जीवनमा आधारित रहेर सिनेमा निर्माण गरिएको हो ।

इङ्गल्याण्ड र बेलायतमा सम्पूर्ण छायांकन भएको सिनेमाको हाल लन्डनमा पोस्ट प्रोडक्सनको काम भइरहेको निर्देशक प्रदीप शाहीले बताए । सिनेमा आगामी साउन मध्यतिर प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ । २५ सेप्टेम्बर १९१५ मा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए । सोही घटनामा सिनेमा आधारित भएर सिनेमा निर्माण गरिएको छ ।

निर्देशक शाहीले जोखिम मोलेर विश्व शान्तिको लागि लड्ने पुर्खाहरुलाई श्रद्दाञ्जलीका लागि सिनेमा निर्माण गरेको बताए । उनले भने- ‘सिनेमाले गोर्खालीहरु जति बहादुर छन् त्यति नै दयालु हृदयका पनि छन् भन्ने देखाएका छौं । विश्व युद्धमा घाइतेलाई गोर्खा सैनिकले नै उद्दार गरेका थिए, सोही कुरा सिनेमाको विषय हो । आत्म-त्याग, करुणा र मित्रताको कथामा सिनेमा निर्माण भएको छ ।’

शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय छ । सिनेमाको कथा निर्देशक शाही आफैंले लेखेका हुन् । लामो समयदेखि बेलायतमा बसेर सिनेमा निर्माण गर्दै आएका उनले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन् ।

मधु गुरुङ र प्रयास गुरुङ निर्माता तथा क्षितिज सुवेदी कार्यकारी निर्माता हुन् । गोर्खालीको सत्य घटनामा आधारित सिनेमामा जोडिन पाउनु सुन्दर पक्ष रहेको सुवेदीले बताए । ‘मैले अहिलेसम्म जतिपनि सिनेमामा काम गरेको छु ति सिनेमाभन्दा यो सिनेमा अत्यन्तै फरक छ । यो हाम्रा पुर्खाको विरताको कथा हो’, सुवेदीले भने ।

सिनेमामा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायांकन, रुपेश गुरुङको सम्पादन, विश्व शाहीको संगीत, अश्रुती पटेलको कला निर्देशन, एरमान जम्बकको भिएफएक्स, बेलेन सिलोगुल्लरको कलर र रबिन श्रेष्ठको साउन्ड ट्रयाक रहेको छ ।