प्रधानमन्त्री देउवाले गरे नेपाली सिनेमा ‘सर्वजीत’को शुभमुहुर्त

प्रधानमन्त्री देउवाले गरे नेपाली सिनेमा ‘सर्वजीत’को शुभमुहुर्त

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा ‘सर्वजीत’को शनिबार बालुवाटामा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभमुहुर्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार आयोजित सिनेमाको शुभमुहूर्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्री प्रेम आले, विकास बोर्डका अध्यक्ष दयाराम दाहाल लगायत उपस्थित थिए ।

प्रधानमन्त्री देउवाले सिनेमाको शुभमुहुर्त गर्नुका सार्थ सिनेमाको टिमलाई सफलताको शुभकामना दिए । ‘यस किसिमको सिनेमा निर्माण गर्नु पर्छ । टिमलाई शुभकामना छ’ उनले भने । र्पयटनमन्त्री आलेले सिनेमा ‘सर्वजित’ निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा गरे । कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् ।

दलित महिला केन्द्रले निर्माण गर्न लागेको सिनेमालाई दिनेश डीसीले निर्देशन गर्नेछन् । सिनेमा दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनमा आधारित हुनेछ । जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसको अवसरमा सिनेमाको शुभमुहुर्त गरिएको हो । निर्देशक डिसी केही समयको विश्राम पश्चात निर्देशनमा फर्किने भएका छन् ।

‘पहिला यो डकुमेन्ट्री बनाउने भनेर म कहाँ आइपुगेको हो । मैले सर्वजीत ज्युको जीवनी थाहा पाएपछि यसलाई सिनेमामै ल्याउनु पर्छ भनेर जुटेका हौँ’ निर्देशक डिसीले भने । भगत सर्वजित विश्वकर्मा प्रतिष्ठानको प्रस्तुतिमा दलित महिला केन्द्रले निर्माण गर्ने र मेगा आर्ट एण्ड इन्टरटेनमेन्टले निर्माण व्यवस्थापन गर्ने दलित आन्दोलनको पहिलो अगुवा मानिने भगत सर्वजीत विश्वकर्माको जीवनीमाथि निर्माण हुनेछ ।

विश्वकर्माले १९९७ सालमा विश्व सर्वजन नामक संगठन स्थापना गर्दै सांगठनिक रूपमै दलित आन्दोलनको सुरुवात गरेका थिए । बागलुङ नगरपालिका ७ मा पर्ने साविकको मूलपानी गाविसको गैरागाउँमा १९५० सालमा जन्मिएका सर्वजित सानैदेखि विद्रोही स्वभावका थिए ।

त्यतिबेला नेपालमा दलितलाई अध्ययनको वातावरण नभएकाले उनले भारतको बनारस पुगेर संस्कृतमा आचार्य अध्ययन गरेका थिए । आचार्य उपाधि पाएपछि उनलाई भगत सर्वजित भन्न थालिएको हो । उनले हिन्दु धर्मको गहिरो अध्ययन गरेका थिए । दलित आन्दोलन चर्किँदै गर्दा उनी छोरासहित भारतमा निर्वासित भए । सन् २०१२ सालमा भारतमै उनको निधन भयो ।

डिसीको निर्देशन रहने बायोपिक सिनेमा ‘सर्वजीत’मा एन वि महर्जनको द्वन्द्व निर्देशन, मोहन निरौलाको संवाद, सौरभ लामाको छायांकन, जनक खड्काको पटकथा र एलिश कार्कीको पाश्र्व संगीत रहनेछ । बाग्लुङ्ग, पाल्पा, पोखरा, काठमान्डौ र बनारसमा छायांकन हुने ऐतिहासिक नेपाली सिनेमाको छायांकन भदौ अन्तिमदेखि सुरु हुनेछ । १ करोड २५ लाख रुपैयाँ बजेटमा निर्माण हुने सिनेमाको तयारी केही समय अगाडिबाट चलेको थियो ।