‘ह्रस्व दीर्घ’को छायांकन ‘बाहुबली’ खिचेको स्टूडियोमा हुने

‘ह्रस्व दीर्घ’को छायांकन ‘बाहुबली’ खिचेको स्टूडियोमा हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री निता ढुंगाना र अहिनेता हरिहर अधिकारीको मुख्य भुमिका रहने सिनेमा ‘ह्रस्व दीर्घ’को छायांकन भारतको ‘रामोजी सिनेमा सिटी’मा हुने भएको छ । नेपाली सिनेमाको छायांकन पहिलो पटक विश्वकै ठुलो स्टुडियोमा हुने भएको हो ।

दक्षिण भारतीय सिनेमा ‘बाहुबली’को समेत छायांकन भएको उक्त स्टूडियोमा अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीले निर्माण गर्न लागेको सिनेमा ‘ह्रस्व दीर्घ’को छायांकन हुने भएको छ । हालै निर्माण कम्पनी र स्टूडियोबीच सम्झौता भएको हरिहरले जानकारी दिए ।

१६ हजार ६ सय ६६ एकडमा फैलिएको हैदरावादमा अवस्थित ‘रामोजी फिल्म सिटी’ संसारकै सबैभन्दा ठूलो सिनेमा स्टूडियोको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखिएको छ । यो स्टूडियोमा बलिउड र साउथका अधिकांश सिनेमाको छायांकन हुने गरेको छ । यो स्टूडियोमा ‘ह्रस्व दीर्घ’को छायांकनका लागि निर्माण टिमले करोडौं रुपैयाँ खर्च गर्न लागेको बताइएको छ ।

सिनेमामा सलो बस्नेतको पनि मुख्य भूमिका रहनेछ भने भारतका चर्चित कलाकारहरुले पनि अभिनय गर्दैछन् । सिनेमामा ‘गजनी’ भिलेन प्रदीप रावत अनुबन्ध भइसकेका छन् । केही दक्षिण भारतीय सिनेमाका चर्चित कलाकारको पनि सिनेमामा अभिनय रहने जानकारी प्राप्त छ । सिनेमालाई नीता ढुंङ्गानाको प्रोडक्सन कम्पनी ‘नीता फिल्मस्’ले निर्माण गर्नेछ ।

चन्द्र पन्तको निर्देशनमा बन्ने सिनेमाको नाम र स्क्रिप्टको प्रतिलिपि अधिकार पनि रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएको छ । सिनेमालाई बलिउडका छायांकार कविरलालले खिच्नेछन् । अब कसैले ‘ह्रस्व दीर्घ’मा समेटिएको कथा, संवाद र प्लट प्रयोग गर्न पाउने छैनन् । साउनबाट छायांकन सुरु हुने सिनेमाको हाल स्क्रिप्टलाई अन्तिम रुप दिने काम भइरहेको नीताले जानकारी दिइन् ।