‘माग्ने राजा’मा सहकार्य गर्दै दीपक र हेमराज

‘माग्ने राजा’मा सहकार्य गर्दै दीपक र हेमराज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक हेमराज बिसी र निर्माता तथा अभिनेता दीपकराज गिरीबीच नयाँ सिनेमामा टिमअप हुने भएको छ । केही मिडियामा हेमराजले ‘छक्का पञ्जा ४’ निर्देशन गर्ने बताइए पनि सिनेमाको नाम ‘माग्ने राजा’ जुराइएको छ । निर्देशक बिसी भने अहिलेसम्म सिनेमाको नाम फाइनल नभएको बताउँछन् ।

निर्देशक बिसीले भने – ‘अहिले हामी स्क्रिप्टलाई अन्तिम रुप दिँदैछौं । असारमा छायांकन गरेर दशैंमा रिलिज गर्ने लक्ष्य हो । कलाकारदेखि सिनेमाको नाम केही दिनमा टुंगो लाग्नेछ ।’ दीपकराज गिरी र दीपाश्री निरौलाले यसपालीको दशैंमा ‘छक्का पञ्जा ४’ प्रदर्शन गर्ने घोषणा गरेका थिए । हेमराजसँगको टिमअपपछि ‘छक्का पञ्जा ४’लाई स्थगित गर्दै नयाँ नाममा सिनेमा निर्माण गर्न लागेका हुन् ।

‘छक्का पञ्जा’ सिरिजको निर्देशन सम्हाल्दै आएकी अभिनेत्री दीपाश्री निरौला, दीपकराज गिरी, केदार घिमिरे, निर्मल शर्माको सिनेमामा अभिनय रहने पक्का भैसकेको छ । ‘छक्का पञ्जा’ सिरिजबाहेक दीपक-दीपा समुहले फरक-फरक निर्देशकसँग काम गर्दै आएको छ । ‘होस्टेल’बाट निर्देशनमा डेव्यु गरेका हेमराजले त्यसपछि ‘जेरी, गाजलु, ‘ग्यांगस्टार ब्लूज, द ब्रेकअप, घामड शेरे’को निर्देशन गरिसकेका छन् ।