‘सिल्ली फो’ले नेपालीपन र नेपाली स्वाद दिने विश्वास छ : केकी अधिकारी

‘सिल्ली फो’ले नेपालीपन र नेपाली स्वाद दिने विश्वास छ : केकी अधिकारी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – राज बहादुर साने निर्देशित सिनेमा ‘सिल्ली फो’ आगामी असार ३१ गतेबाट प्रदर्शनमा आउँदै छ । आइतबार राजधानीमा सिनेमाको एक पत्रकार भेटघाट कार्यक्रम राखिएको थियो । कमेडी जनरामा निर्माण भएको सिनेमाको पत्रकार भेटघाट कार्यक्रममा अभिनेत्री केकी अधिकारी पनि उपस्थित थिइन् ।

सिनेमामा केकी अधिकारी एक मात्र मुख्य महिला कलाकारको रुपमा छिन् । सिल्ली फोमा उनी अभिनयमा संघर्ष गरिरहेको एक युवतीको भूमिका निर्वाह गरेकी छन् । सिनेमामा अभिनय गर्दा आफूले आफ्नो संघर्षका दिन सम्झिएको केकी सम्झिएको बताउँछिन् । सिनेमामा राजाराम पौडेल र रविन्द्र झाको पनि मुख्य भुमिका रहेको छ ।

आइतवार आयोजित कार्यक्रममा केकीले भनिन्, ‘सिनेमामा मैले निर्वाह गरेको चरित्र संघर्ष गरिरहेको एक युवतीको हो । पात्रको संघर्षले मलाई सुरुवातको दिनहरु याद दिलायो । हामीले भोगिरहेको र देखिरहेकै कुरा भएकाले सिनेमामा अभिनय गर्न धेरथोर सहज पनि भयो ।’ सिनेमाले दर्शकलाई नेपालीपन र नेपाली स्वाद दिने विश्वास केकीको छ ।

निर्देशक राजबहादुर सानेले ‘सिल्ली फो’बाट आफूले धेरै कुरा सिक्ने मौका पाएको बताएका छन् । यो सिोमाबाट सिकेको कुरा भोलीका दिनमा राम्रो सिनेमा निर्माण गर्न सहयोग पुग्ने उनको विश्वास छ । उनले भने, ‘मैले कमेडी जनरामा पहिलो पटक हात हालेको हुँ । सिनेमाले मलाई कमेडी जनरामा स्थापित गर्नेछ भन्नेमा विश्वस्त छु । कुनैपनि विदेशी सिनेमाबाट प्रभावित नरहेको दावी सहित सिल्ली फोले नेपाली समाजभित्रको वास्तविक कथा भन्ने बताए ।’

कलाकार द्वय राजाराम पौडेल र रविन्द्र झाले सिनेमामा अभिनय गर्दा रमाइलो भएको अनुभव साट्दै सिनेमा राम्रो बनेको दाबी गरे । सिनेमामा धिरेन शाक्य, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल, रेजिना थापा, राज गौतम, अम्बर बहादुर विष्ट, सौजन बोहोरा, जयमन बिश्वकर्मा, सरस्वती रम्जाली मगरलगायतको पनि अभिनय रहेको छ ।

मनोज डिके निर्माता रहेको सिनेमाका सह-निर्माता विशाल श्रेष्ठ हुन् । सिनेमामा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर र मदन बास्तोलाको भीएफएक्स छ । सिनेमालाई सुनील मानन्धरको श्रीराम बालाजी फिल्मसले वितरण गर्दैछ ।