क्यान्सरका कारण ‘टाइटानिक’ निर्माता जोन लान्डाउको निधन

क्यान्सरका कारण ‘टाइटानिक’ निर्माता जोन लान्डाउको निधन

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ब्लकबस्टर सिनेमा ‘टाइटानिक’का निर्माता जोन लान्डाउको निधन भएको छ । ओस्कार अवार्ड विजेता निर्माता लान्डाउको ६३ वर्षको उमेरमा क्यान्सरका कारण निधन भएको हलिउड मिडिया भेराइटी जनाएको छ । न्युयोर्कमा लान्डाउको जन्म ३० जुलाई १९६० मा भएको थियो ।

लामो समयदेखि सिनेमा निर्माणमा ‘अवतार’ फेम्ड निर्देशक जेम्स क्यामरुनसँग सहकार्य गरिरहेका लान्डाउले अहिलेसम्म विश्व बक्सअफिसमा धेरै कमाउने चार सिनेमाको निर्माण गरेका थिए । उनले निर्माण गरेको पहिलो सिनेमा ‘टाइटानिक’ले बक्स अफिसमा पहिलोपटक एक बिलियन डलर कमाउँदै इतिहास रचेको थियो ।

लाउण्डको लगानीमा निर्माण भएको सिनेमा ‘टाइटानिक’ले बनाएको व्यावसायिक कीर्तिमान उनले नै निर्माण गरेका सिनेमा ‘अवतार’ र ‘अवतार : द वे अफ वाटर’ तोडेका थिए । हाल लान्डाउ ‘अवतार’को आगामी श्रृंखलाको निर्माणमा व्यस्त थिए ।

उनी निर्देशक क्यामरुनसँग मिलेर यो ब्लकबस्टर साइन्स-फिक्सन ‘अवतार’ श्रृंखलालाई पाँच भागमा निर्माण गरिरहेका थिए । लान्डाउले २९ वर्षको उमेरमा हलिउड स्टुडियो ट्वेन्टिथ सेन्चुरी फक्समा फिचर सिनेमा निर्माणको कार्यकारी निर्माता भएर ‘डाइ हार्ड २’, ‘पावर रेन्जर्स’, ‘द लास्ट अफ द मोहिकान्स’ र ‘ट्रु लाइज’को निर्माण गरेका थिए ।

फक्स स्टुडियो छाडेपछि निर्देशक क्यामरुनले लान्डाउलाई ‘टाइटानिक’मा सहकार्यको लागि प्रस्ताव राखेका थिए । त्यतिबेला ‘टाइटानिक’को नाम ‘प्लानेट आइस’ राखिएको थियो । यो सिनेमाको सफलता पश्चात लान्डाउ आजका दिनसम्म पनि निर्देशक क्यामरुनको निर्माण कम्पनी लाइटस्टोर्म इन्टरटेनमेन्ट ब्यानरमा निर्माताको आवद्ध थिए ।