लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’लाई प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया

लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’लाई प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया

द सिनेमा टाइम्स
196
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भदौ ७ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘सतीदेवी’को मंगलबार प्रिमियर गरिएको छ । कमलपोखरीस्थित बिग मूभिजमा आयोजित प्रिमियर समारोहमा सिनेमाकर्मी तथा रंग पत्रकारको बाक्लो उपस्थिती रहेको थियो ।

प्रिमियर शोमा सिनेमा हेर्नका लागि अभिनेत्री गौरी मल्ल, पूजा शर्मा, मिरुना मगर, यांशु श्रेष्ठ, स्मिता लामिछाने, निर्मात्री पूनम गौतम, निर्देशक ज्ञानेन्द्र देउजा, नवल नेपाल, दिवाकर भट्टराई, लक्ष्मण सुनार, शोभित बस्नेत, अभिनेताहरू सलिनमान बनियाँ, कुन्साङ वोम्जोन, सलोन बस्नेत लगायतका हल पुगेका थिए ।

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले पनि प्रिमियर शोमा ‘सतीदेवी’ हेरिन् । प्रिमियर शोमा सिनेमा हेरेका अधिकांशले नेपालमा विद्यमान रहेको छोराको चाहनामा छोरीलाई तिलाञ्जली दिने पितृसत्तात्मक समाजको समस्यालाई सिनेमाले उठान गरेको बताए । कतिपयले सिनेमा हेर्दा कैयौं पटक आँखा रसाएको बताए ।

प्रिमियरमा सिनेमाले लैंगिक समानताको पक्षमा सामाजिक सन्देश दिएको बताए । उनीहरुले कलात्मक पक्षको प्रशंसा गर्दै सिनेमामा काम गरेका सवै कलाकारको अभिनयको तारिफ गरेका थिए । आज पनि समाजमा छोराको चाहनामा छोरीहरूमाथि हुने गरेको अन्यायको कथालाई मर्मस्पर्शी ढंगले भनेको छ ।

लक्ष्मण सुवेदी निर्देशित सिनेमामा मलिका महतको शीर्ष भूमिका छ । उनले लमजुङकी एक ग्रामिण युवती सतीदेवी अधिकारी नामक चरित्र निर्वाह गरेकी छन् । बाबु र छोरीबीचको स्नेही सम्बन्ध, आरोह-अवरोह सिनेमामा प्रस्तुत गरिएको छ ।

सिनेमामा मलिकासहित रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, इश्वरी सिंह, सन्देश लिम्बु, पवन केसी, जगदीश अधिकारीको अभिनय छ ।

दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको सिनेमामा सुवेदीकै पटकथा र संवाद छ । दिलासा र साराको प्रस्तुती रहेको सिनेमाको निर्माताका श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् । सिनेमामा बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत छ ।