‘लाज शरणम्’को मुख्य भुमिकामा कक्रोजको प्रवेश, अरु को-को छन् कलाकार ?

‘लाज शरणम्’को मुख्य भुमिकामा कक्रोजको प्रवेश, अरु को-को छन् कलाकार ?

द सिनेमा टाइम्स
322
Shares

द सिनेमा टाइम्स, काठमाडौं – यतिवेला ‘सक्किगोनि’ टिमले निर्माण गर्ने सिनेमा ‘लाज शरणम्’को कलाकार छनोट र प्रि-प्रोडक्सनको काम धमाधम भैरहेको छ । एकपछि अर्को कलाकारको प्रवेश सिनेमामा धमाधम भैरहेको छ । सिनेमामा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहने देखिएको छ ।

गत साउनमा सिनेमाका लेख तथा निर्देशक कुमार कट्टेलको जन्मदिनको अवसरमा औपचारिक निर्माण घोषणा गर्दा सिनेमामा ‘सक्किगोनि’ टिमबाट सागर लम्साल (बले), अर्जुन घिमिरे (पाँडे), र कमलमणी नेपाल (खुपीका बाउ)को अभिनय रहने जानकारी दिइएको थियो । आफ्नो टिम बाहिरबाट मुकुन्द श्रेष्ठ, विजय बराल र माला लिम्बुको अभिनय रहने फाइनल थिए । बाँकी कलाकारको जानकारी विस्तारै दिने बताइएको थियो ।

त्यससँगै सिनेमामा निर्माण टिमले एकपछि अर्को कलाकार अनुबन्धित गर्दै गइरहेको छ । अहिलेसम्म सिनेमामा रामभजन कामत, बबिन राई (गल्फने बाजे), प्रियना आचार्य (मुन्नी) सक्किगोनि टिमबाट र बाहिरबाट अभिनेता महेश त्रिपाठी र अभिनेत्री रेनु नाथ योगी अनुबन्धित भैसकेका छन् ।

यसैबीच सिनेमाको मुख्य अभिनेतामा हरिष निरौला (कक्रोज) अनुबन्धित भएका छन् । निर्माण टिमले बिहीबार सिनेमा कक्रोजको पनि अभिनय रहने जानकारी दिएको हो । यसअघि उनी सिनेमामा रहने नरहने भन्ने कुनैपनि जानकारी निर्माण टिमले दिएको थिएन् । सिनेमाको निर्माण घोषणा कार्यक्रममा कक्रोज नदेखिएपछि मिडियामा कक्रोज टिममा नअटेपछि उनी रिसाएर सिनेमाको कार्यक्रममा नै नआएको चर्चा चलेको थियो ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण हुने सिनेमामा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह-निर्माताको रुपमा रहेका छन् । आगामी भदौ तेस्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको सिनेमा फागुन १४ गते महाशिवरात्रीको अवसरमा नेपालभरका सिनेमा हलमा रिलिज हुनेछ ।