‘नरसिंहाः अवतार’मा जोडिए राज कटुवाल, रोचक बन्यो कलाकारको लाइनअप

‘नरसिंहाः अवतार’मा जोडिए राज कटुवाल, रोचक बन्यो कलाकारको लाइनअप

द सिनेमा टाइम्स
196
Shares

द सिनेमा टाइम्स, काठमाडौं – महानायक राजेश हमालको कमव्याक सिनेमा ‘नरसिंहाः अवतार’मा कलाकारहरूको लाइनअप रोचक बनेको छ ।

एक्सन तथा सोसल ड्रामामा बन्ने सिनेमाका लागि अहिलेसम्म ६ जना मुख्य पात्रहरू फाइनल भइसकेका छन् । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको सिनेमामा महानायक राजेश हमाल, नीति शाह, सरोज खनाल, प्रशान्त ताम्राकार, नीर शाह, सनिशा भट्टराई र दीपा शाही अनुबन्धित भइसकेका छन् ।

सिनेमामा अभिनेता राज कटुवाल जोडिएका छन् । शुक्रबार उनी सिनेमामा अनुबन्धित भएका हुन् । उनी ‘नरसिंहाः अवतार’ मा जोडिएसँगै सिनेमाको मुख्य कलाकारहरूको लाइनअप पूरा भएको छ । निर्माणपक्षले यो सिनेमामा यी सबै जना कलाकारको के-कस्तो भूमिका छ भन्ने विषयमा कुनै जानकारी खुलाइएको छैनन् ।

सिनेमामा राजलाई अनुबन्धित गराएसँगै निर्देशक भट्टराईले यो सिनेमाबाट एक एउटा राम्रो अभिनेताको जन्म हुने आशा व्यक्त गरेका छन् । अभिनेता कटुवालले यो सिनेमामा जोडिन पाउँदा अत्यन्तै खुसी लागेको बताए । यो सिनेमाबाट महानायक हमालले आठ वर्षपछि कमव्याक गर्दैछन् ।

निर्देशक भट्टराईको सिनेमामा ‘क्याप्टेन’पछि अभिनेता सरोजले अभिनय गर्न लागेका छन् भने हमाल र खनाल ३० वर्षपछि एउटै सिनेमामा देखिन लागेका हुन् । यस्तै, निर्देशक भट्टराई र अभिनेता ताम्राकारले यसअघि ‘ऐश्वर्या’, ‘क्याप्टेन’ र ‘मायावी’मा पनि सहकार्य गरेका थिए ।

क्रिएटिभ सिने आर्टको प्रस्तुतिमा निर्माण हुन लागेका सिनेमा भदौको अन्तिम साताबाट छायांकनमा जाने तयारीमा रहेको छ । सिनेमाको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ । निर्देशक भट्टराईको अर्को सिनेमा ‘मायावी’ प्रदर्शनको तयारीमा छ ।