‘तेल भिसा’को पहिलो गीत ‘हरि नाम झैं’ सार्वजनिक

‘तेल भिसा’को पहिलो गीत ‘हरि नाम झैं’ सार्वजनिक

द सिनेमा टाइम्स
224
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘तेल भिसा’को पहिलो गीत ‘हरि नाम झैं’ सार्वजनिक भएको छ । सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर सिनेमाको पहिलो गीत सार्वजनिक गरिएको हो ।

कल्याण् सिंहको संगीत तथा हर्क साउदको शब्द रचना रहेको गीतमा निशान भट्टराई र समीरा थपलियाको स्वर छ । सिनेमाका मुख्य कलाकार विपिन कार्की, वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र केही विदेशी कलाकार गीतमा फिचर्ड छन् । सिनेमाका मुख्य अभिनेता विपिन कार्कीकी स्वर्गिय आमा सरस्वती कार्कीप्रति यो गीत समर्पित गरिएको छ ।

सिनेमामा अभिनेता विपिन कार्की दोहोरो भुमिकामा देखिएका छन् । सिनेमामा विपिनको जवान र बृद्ध गरि दुई फरक अवतार दर्शकले हेर्न पाउने छन् । ‘तेल भिसा’बाट निर्देशक शंकर घिमिरे १२ वर्षपछि निर्देशनमा कमव्याक गर्दैछन् । यसअघि उनले ‘विष’, ‘विरताको चीनो’, ‘ब्रेकफेल’ र ‘तुलसी’ लगायतका सिनेमा निर्माण तथा निर्देशन गरेका थिए । आगामी मंसिर ७ गतेबाट सिनेमा नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउँदैछ ।

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको सिनेमामा अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको ‘तेल भिसा’मा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन र अजय खड्काको सम्पादन रहनेछ ।