शुक्रवारदेखि काठमाडौंमा ‘थाई सिनेमा महोत्सव नेपाल २०२४’ आयोजना हुने

शुक्रवारदेखि काठमाडौंमा ‘थाई सिनेमा महोत्सव नेपाल २०२४’ आयोजना हुने

द सिनेमा टाइम्स
14
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रोयल थाई दूतावासले ‘थाई सिनेमा महोत्सव नेपाल २०२४’ काठमाडौंमा आयोजना गर्ने भएको छ ।

नेपालका लागि थाई राजदूत सुपापोङ सिरिसोर्नले सोमवार दूतावासमा आयोजित पत्रकार सम्मेलनमा नेपाल र थाइल्याण्डबीचको कूटनीतिक सम्बन्धको ६५ वर्ष पूरा भएको अवसरमा एक दशकबाट रोकिएको महोत्सव पुनः सुरु गर्न लागेको जानकारी दिए ।

यही भदौ १४ गते शुक्रबारदेखि ठमेलस्थित छाया सेन्टरको क्यूएफएक्स सिनेमा हलमा महोत्सव सुरु भई भदौ १६ गते आइतबार समापन हुनेछ । यो नेपालमा आयोजना हुन लागेको चांैथो थाई सिनेमा महोत्सव हो, जसको अघिल्लो संस्करण सन् २०१३ मा आयोजना भएको थियो ।

राजदूत सिरिसोर्नले नेपाल र थाइल्याण्डबीचको लामो सम्बन्धलाई सम्मान गर्न र सिनेमाको विश्वव्यापी भाषामार्फत थाई र नेपाली जनतालाई नजिक ल्याउन महोत्सवको आयोजना गरिएको बताए । यो महोत्सव भविष्यमा पनि निरन्तर आयोजना गरिने राजदुत सिरिसोर्नले जनाए ।

यो महोत्सवमा थाई सिनेमा बजारमा प्रशंसित र पुरस्कार विजेता ६ वटा सिनेमाहरू प्रदर्शन गरिनेछन् । दर्शकहरूले कमेडी, रोमान्स, र हरर श्रेणीका सिनेमाहरूको आनन्द लिनुका साथै निःशुल्क थाई खानाको स्वाद समेत चाख्न पाउनेछन् ।

महोत्सवको उद्घाटनमा भदौ १४ गते साँझ ५ः३० बजे ‘हाउ टु मेक मिलियन्स बिफोर ग्रान्डमा डाइज’ सिनेमाको प्रदर्शनसँगै हुनेछ । त्यसपछि ‘प्याड थाई द मुभी’ देखाइनेछ । भदौ १५ गते ‘टुगेदर द मुभी’ र ‘अन्डरटेकर’ प्रदर्शन हुनेछ । अन्तिम दिन भदौ १६ गते ‘ड्रिम अ लिटिल ड्रिम’ र ‘ब्रोकन सोर्ड हिरो’ प्रदर्शन हुनेछन् । यो महोत्सवमा दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।