क्यूएफएक्समा धेरै कमाउने सिनेमाका निर्माता र वितरकलाई अवार्ड प्रदान

क्यूएफएक्समा धेरै कमाउने सिनेमाका निर्माता र वितरकलाई अवार्ड प्रदान

द सिनेमा टाइम्स
266
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालमा सञ्चालित सवैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले पछिल्लो एक वर्षमा आफ्नो हलमा धेरै व्यापार गर्ने सिनेमाका निर्माता तथा वितरकलाई अवार्ड प्रदान गरेको छ ।

आइतबार सोल्टी होटलमा आयोजित एक कार्यक्रमका बीच क्यूएफएक्सले हल सञ्चालनमा विज्ञापन प्रसारण गरेर योगदान दिने तीन विज्ञापन एजेन्सी एडी रिलिज, म्याक्स मिडिया र अभानी कम्युनिकेसन सोलुसनलाई पनि अवार्ड दिइयो ।

क्यूएफएक्स चेनमा गत वर्ष टिकट विक्रीको आधारमा धेरै कमाउने ५ सिनेमालाई ग्रस कलेक्सनका आधारमा अवार्ड प्रधान गरिएको थियो । गत वर्ष क्युएफएक्समा धेरै कमाउने सिनेमाहरुमा महाजात्रा, बोक्सीको घर, दिमाग खराब, पुजार सार्की र भष्मे डन छन् । अवार्ड ग्रहण गर्न यी सिनेमाका निर्माता, निर्देशक र कलाकार उपस्थित थिए ।

यसका अलवा अभिनेत्री केकी अधिकारीले निर्माण गरेको सिनेमा बोक्सीको घरलाई उदाहरणीय कार्य गरेबापत पनि सम्मान गरिएको थियो । अभिनेत्री तथा निर्मात्री केकी अधिकारी यो सम्मान ग्रहण गर्न आफै क्युएफएक्सको कार्यक्रममा पुगेकी थिइन् ।

क्यूएफएक्समा धेरै कमाइ गर्ने सिनेमाका ५ वितरण कम्पनीलाई पनि अवार्ड प्रदान गरिएको थियो । जसमा एप्पल इन्टटेनमेन्ट, ए–एट् डिष्ट्रिब्युसन, ब्यांकटेस इन्टरटेनमेन्ट, एफडी कम्पनी र डीसीएन छन् । क्यूएफएक्सको माउ कम्पनी टिम क्वेस्टका निर्देशकहरु नकिम उद्दिन, भाष्कर ढुंगाना र राजेश सिद्दिले अवार्ड प्रदान गरेका हुन् । पूर्वमिस नेपाल नम्रता श्रेष्ठले क्युएफएक्सको अवार्ड समारोह सञ्चालन गरेकी थिइन् ।

कोरोना महामारी अगाडी क्यूएफएक्सले यो अवार्ड समारोह निरन्तर आयोजना गर्दैै आइरहेको थियो । कोरोना महामारीका कारण रोकिएको अवार्ड समारोहलाई यसवर्षदेखि पुनः निरन्तरता दिएको हो । क्यूएफएक्सका अहिले देशभर १७ हलमा ४० पर्दा सञ्चालनमा छन् ।