मीन बहादुर भाम निर्देशित ‘शाम्बाला’को ट्रेलर सार्वजनिक

मीन बहादुर भाम निर्देशित ‘शाम्बाला’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भदौ २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘शाम्बाला’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको दोस्रो ट्रेलर सार्वजनिक गरिएको हो ।

यसअघि गत वर्षको चैत्र महिना ‘शाम्बाला’को विदेशी सिनेमा महोत्सवलाई लक्षित गरेर पहिलो ट्रेलर सार्वजनिक गरिएको थियो । मीनबहादुर भाम निर्देशित सिनेमालाई नेपालमा नकिम उद्दिनको एप्पल इन्टरटेनमेन्टले रिलिज गर्न लागेको हो ।

विश्वप्रसिद्ध बर्लिन सिनेमा महोत्सवमा वर्ल्ड प्रिमियर भएको सिनेमा यही महिना स्वीट्जरल्याण्डको लोकार्नो सिनेमा महोत्सवमा पनि स्क्रिनिङ गरिएको थियो । ड्रामा, एड्भेन्चर तथा म्याजिक रियालिजम जनरा निर्माण भएको सिनेमा ‘कालोपोथी’ निर्देशक भामको दोस्रो निर्देशकिय फिचर सिनेमा हो ।

नेपालको डोल्पा जिल्लाको स्थानिय भाषामा रिलिज सिनेमामा नेपाली र अंग्रेजी सबटाइटलमा देखाइने छ । सहरी क्षेत्रमा अंग्रेजी र गाउँले क्षेत्रमा नेपाली सबटाइटलमा देखाइने निर्देशक मीन बहादुर भामले बताए ।

निर्देशक भामले सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा ग्लोबल दर्शकपछि अब आफू घरेलु दर्शकमाझ आउन लागेकोमा उत्साही रहेको बताए । ‘मेरो पहिलो सिनेमा कालोपोथी केही हलमा मात्र रिलिज भएको थियो । यो सिनेमा भने एप्पल इन्टरटेनमेन्टको सहयोमा वाइड रुपमा नेपालभर लगाउँदैछौं ।’

‘शाम्बाला’लाई अहिलेसम्मकै महंगो नेपाली सिनेमा १४ करोड बजेट रहेको बताइएको छ । नेपालको चलचित्र विकास बोर्डसहित यो सिनेमाले विश्वका १७ अन्तर्राष्ट्रिय संस्थाबाट विभिन्न पुरस्कार जितेको छ । सिनेमालाई नेटफ्लिक्समा रिलिजका लागि आफ्ना विदेशी निर्माता लागिपरेको समेत भामले बताए ।

सिनेमाले एक पुरुष र उनका दुई साना भाइसँग बहुआयामी वैवाहिक सम्बन्धमा रहेकी एक महिला पेमाको कथालाई प्रस्तुत गर्छ । जब व्यापारका लागि घरबाट हिँडेका पुरुष फर्किदैनन्, तब पेमाले आफ्नो गर्भमा रहेको बच्चालाई वैधता दिनका लागि उसलाई खोज्न थाल्छिन् ।

सुनी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको सिनेमामा सोनम तोप्देन, थिन्ले ल्हामो, तेन्जिङ डल्हा, कर्मा वाङ्ग्याल गरुङ, कर्मा शाक्य,लोटन निमलिङ्ग, जंग बहादुर लामा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

सिनेमाको कथा मिन भाम र अविनाशविक्रम शाहले लेखेका हुन् ।