‘रावायण’बाट कलाकार भन्दा पनि मेकरका रुपमा स्थापित हुने प्रयासमा छु : पुजा शर्मा

‘रावायण’बाट कलाकार भन्दा पनि मेकरका रुपमा स्थापित हुने प्रयासमा छु : पुजा शर्मा

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री पुजा शर्मा सिनेमा ‘रावायण’मा पत्रकारको भूमिकामा देखिँदैछिन् । यो सिनेमा आगामी शुक्रबार अर्थात भदौ २१ गतेबाट प्रदर्शनमा आउँदैछ । सिनेमाको टिजर र ट्रेलरमा पुजालाई हातमा बुम बोकेर टेलिभिजनमा रिपोर्टिङ गरिरहेको देख्न सकिन्छ ।

‘पत्रकारितामा करिब १०–१२ वर्षकै ग्याप थियो । पहिला एउटा फ्लोमा पत्रकारिता गर्थें । सिनेमामा पत्रकारको भूमिकामा अभिनय गर्दा अलिक कन्सस भएँ । अभिनयमा ‘स्ट्रङ’ तरिकाले प्रस्तुती दिँदा पुरानो सम्झना आउँदो रहेछ । त्यतिबेला ‘अहो बिर्सेछु यार’ भन्ने फिलिङ आउँदो रहेछ’, सिनेमाकी ‘वैभवी’ पात्र पुजा भन्छिन् ।

पत्रकारितामा कुनै समय रमाएकी पुजाले ‘रावायण’मा पत्रकार भूमिकामा देखिन केही अध्ययन पनि गरिन् । ‘यो मैले अहिलेसम्म गरिरहेको सिनेमाभन्दा फरक थियो । त्यही भएर अलिक ‘स्ट्रङ’ खालको भूमिका भइसकेपछि बोलीचाली र लुक्समा ध्यान दिएको थिएँ । चरित्रकै लागि नियमित समाचार हेर्थे, को कसरी बोल्छ हेर्थे । कतिपय अवस्थामा युट्युबमा पनि खोज्थें’, पुजाले चरित्रको तयारी सम्झिइन् ।

पुजा आफ्नै कारणले ‘रावायण’को कथा अघि बढेको बताउँछिन् । ‘रावायणमा जे जति घटना भइरहेका हुन्छन्, ती सबैको कारण मै हुँ । सिनेमामा हामीले एसिड आक्रमणदेखि लिएर देशमा मानिसहरुले कसरी शक्ति दुरुपयोग गरिरहेका छन् भन्ने कुरालाई देखाएका छौं’, पुजा भन्छिन् ।

पुजालाई ‘उत्कृष्ट मेकर’ बन्नु छ । त्यो प्रयासमा आफूलाई ‘रावायण’ले सफल बनाउने उनको बुझाई छ । ‘रावायणबाट म कलाकार भन्दा पनि मेकरका रुपमा स्थापित हुने प्रयासमा छु । म बेस्ट मेकर भएर आउँ, त्यसकै लागि दर्शकलाई ‘रावायण’ दिँदैछु । दर्शकलाई पनि पुजा शर्माले ल्याउँदा यस्तो सिनेमा राम्रो रहेछ है भन्ने अनुभव होस् । म यसपटक मेकरका रुपमा मात्र फोकस छु’, पुजाको दाबी छ ।

अब पुजा शर्मा भनेर चिनाउनका लागि कुदिरहनु पर्दैन । ‘अब म मेकरको हिसाबले कुदिरहेकी छु । अभिनय र गर्नुपर्ने काम त गरिरहेको छु । तर बेस्ट सिनेमा कसरी बनाउने, कसरी भन्नेमा केन्द्रीत छु’, पुजा भन्छिन् । सिनेमा ‘रावायण’ अभिनेत्रीसँगै निर्माता बन्दा पुजामाथि दोहोरो दबाब छ । त्यहीकारण उनले आगामी सिनेमामा उनी एउटा मात्र विधा रोज्ने योजनामा छिन् ।

‘कलाकार र निर्माता हुँदा दोहोरो दबाब हुँदो रहेछ । अब अर्को पटक कि म कलाकार हुन्छु कि मेकर । किनभने कलाकार र निर्माता दुवैको जिम्मेवारी लिइरहँदा सिनेमाको सेटमा म अभिनय गरिरहेकी छु, तर के भयो, कसो भयो भन्ने अर्को चिन्ता ममाथि थपिइरहेको हुन्छ । ‘रावायण’ले मलाई त्यो एउटा पाठ सिकायो’, पुजाको भनाई छ ।

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको व्यानरमा बनेको सिनेमाकी निर्माता पुजा शर्मा हुन् । सुशन पाठक कार्यकारी निर्माता रहेको सिनेमाका निर्देशक सुदर्शन थापा हुन् । सिनेमामा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतको अभिनय छ ।

सिनेमामा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, विजय बस्यालको पोस्टर डिजाइन, नविन पुरीको प्रोडक्सन डिजाइन छ ।