बाबु-छोराको सम्बन्धको कथा ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

बाबु-छोराको सम्बन्धको कथा ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
588
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कात्तिक १५ गते लक्ष्मीपूजाको अवसरमा प्रदर्शनमा आउने सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक भएको छ । सोमबार परेको बुवाको मुख हेर्ने दिनको अवसर पारेर आइतबार सिनेमाको १ मिनेट ५० सेकेण्ड लामो टिजर सार्वजनिक गरिएको हो ।

सिनेमाको टिजरमा मुख्य कलाकार विजय बराल र प्रकाश सपूत प्रस्तुत छन् । गरिबीका कारण बुवाले झेल्नु परेको अभाव, छोराले पाएको शैक्षिक सफलता र विछोडको पीडा सार्वजनिक टिजरमा समेटिएको छ । एक बाबुले आफ्नो सन्तानको प्रगति र खुसीका लागि गर्ने त्याग, संघर्षले दिने उपलब्धीको कथा सिनेमाले उठाएको बुझिन्छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमामा सरोज पौडेलको लेखन तथा निर्देशन रहेको छ । सिनेमामा विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।

नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय रूपमा वितरण गर्दै आएको सेभेन सिज इन्टरटेनमेन्टले रामबाबु गुरुङको बाँसुरी फिल्मस्सँग यो सिनेमा प्रदर्शनका लागि सहकार्य गरेको हो । सिनेमाका निर्माता विनोद पौडेल र प्रतीक सुवेदी हुन् । सिनेमाका कार्यकारी निर्माता रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

सिनेमालाई नेपाल र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दैछ । नेपाली सिनेमाको विदेश वितरक सेभेन सिजले पहिलो पटक पूर्ण बहादुरको सारङ्गीबाट नेपालमा पनि सिनेमा वितरणको सुरुवात गर्ने भएको हो । सोसल-ड्रामा जनरा निर्माण भएको सिनेमा गन्धर्व परिवारको कथामा आधारित छ । सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।

सिनेमामा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर अनि सुरेन्द्र पौडेलको रहेको छ ।