चल्ने आधार बनाउँदै ‘खुस्मा’, दर्शक मन पराउँदैछन् धिरज र उपासनाको जोडी

चल्ने आधार बनाउँदै ‘खुस्मा’, दर्शक मन पराउँदैछन् धिरज र उपासनाको जोडी

द सिनेमा टाइम्स
441
Shares

द सिनेमा टाइम्स, काठमाडौं – लामो समयपछि नेपाली सिनेमाको गीतले युट्युब ट्रेन्डिङमा एक नम्बरको यात्रा गर्यो । एन नम्बरमा पुगेन मात्रै लगातार ट्रेन्डिङको एक नम्बरमा बस्न पनि सफल भयो । त्यो गीत हो– रुकुम मैकोट । र सिनेमा हो- खुस्मा ।

गीतको मौलिक पक्ष दर्शकले मन पराएको पाइन्छ । धिरज मगर र उपासना सिंह ठकुरीको नृत्य रुचाएको पाइएको छ ।

युट्युबमा गीत हेरेर धर्मराज नाम गरेका व्यक्ति लेख्छन्, धेरैपछि राम्रो गीत सुन्न पाइयो । मौलिक भेषभुषामा धिरज र उपासनाको जोडीलाई दर्शकले रुचाएका छन् । आम रुपमा आइरहेका चलचित्रका गीतभन्दा केही फरक छ । तयही फरकपनलाई नै दर्शकले रुचाएका छन् ।

मौलिक भेषभुषामा धिरज र उपसनाको जोडीलाई मन पराएको पाइन्छ । भीम पुन युट्युबमा गीत सुनेर यस्तो कमेन्ट गर्छन्, ‘आहा कति राम्रो मिलेको जोडी । त्यहीँ माथि मिठो गीत निकै मन पर्यो ।

समीर मगरको मन यो गीतको मौलिक पाटोले छोएको छ । पश्चिम नेपालको मगर समुदायको जनवीजन र भेषभुषाले यो उनको हृदयलाई स्पर्श गरेको छ । उनी लेख्छन्– मौलिक अर्ग्यानिक गीत भनेको यस्तो पो हुन्छ त, त्यहीँमाथि सुहाउँदो ड्रेसमा वाउ ! धिरज र उपासना ।

रिलिज भएकै दिन ट्रेन्डिङ २७ मा रहेको गीत चार दिनमा एक नम्बरमा आइपुग्यो । र अहिलेसम्म पनि एक नम्बरमै छ । सारांशमा अधिकांश युट्युबमा गीत हेरेर कमेन्ट गर्नेहरूको प्रतिक्रिया छ । मौलिक गीत र भेषभुषा मनपर्यो । धिरज र उपासनाको जोडी मनपर्यो ।

नेपाली सिने नगरीको इतिहास केलाउने हो भने जुन सिनेमाको गीत रुचाइएको छ, त्यो सिनेमा पनि हलमा मजाले चलेको छ । यसको उदाहरण हर्ने धेरै पछि फर्किनै पर्दैन ।

जुन सिनेमाका गीत हिट भएका छन् ती गीत समाविष्ट सिनेमा पनि चलेका छन् । त्यसैले ‘खुस्मा’को गीत मन पराइनुले यसले दर्शकको मन जित्ने संकेत गरेको छ । निर्माण पक्ष पनि यही विश्वासमा छ ।

एकातिर सिनेमाले मौलिक विषय उठान गर्नु, अर्कोतिर सिनेमाका मुख्य चरित्र मौलिक भेषभुषामा हुनु र दर्शकले त्यसलाई रुचाउनु सिनेमा पनि दर्शकको रोजाइमा पर्छ भन्ने आधार हुन् ।

पछिल्लो समय मौलिक विषय उठान गरेका सिनेमा दर्शकले रुचाइरहेका छन् । यसको पछिल्लो उदाहरणमा ‘जारी’, ‘घरज्वाइँ’, ‘बोक्सीको घर’लाई नै लिन सकिन्छ । त्यसैले ‘खुस्मा’ टिम सिनेमाले दर्शकको मन जित्ने र वर्ड अफ माउथ राम्रो हुनेमा ढुक्क देखिएको छ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखक तथा निर्देशन अशोक थापा मगर हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरिसकेका छन् । फिचर फिल्म भने यो उनको पहिलो हो ।

डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौवटा विभिन्न अन्तर्राष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।

सिनेमाको निर्मातामा वीरबहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्,। सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ ।

सिनेमामा धिरज र उपासनासँगै माओत्से गुरुङ, खड्गबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, राजु रेग्मी मगर ,अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ ।

एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल विष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मसले गर्दैछ ।