पौष ५ मा सुनिल, वर्षा र विशाल अभिनित ‘झिल्को’ रिलिज घोषणा

पौष ५ मा सुनिल, वर्षा र विशाल अभिनित ‘झिल्को’ रिलिज घोषणा

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । रंगकर्मी तथा अभिनेता सुनील पोखरेलको मुख्य भूमिका रहेको सिनेमा ‘झिल्को’को प्रदर्शन मिति घोषणा गरिएको छ । सामाजिक विषयवस्तमा आधारित यो सिनेमाको शुक्रबार पोस्टर सार्वजनिक गर्दै आगामी पौष ५ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुने जानकारी दिइएको हो ।

यो सिनेमाबाट बरिष्ठ रंगकर्मी पोखरेलले लगभग १३ वर्षपछि सिनेमामा कमव्याक गरेका हुन् । उनले पछिल्लो पटक सन् २०११ मा आएको सिनेमा ‘आचार्य’मा अभिनय गरेका थिए । आचार्य पछि पनि रंगकर्मी पोखरेलले बनफूल नामक सिनेमामा अभिनय गरेका थिए । तर, त्यो सिनेमा हालसम्म प्रदर्शनमा आउन सकेको छैन् । त्यसैले पनि अभिनेता तथा रंगकर्मी पोखरेलका लागि क्रिसमसको सार्वजनिक विदालाई लक्षित गरेर प्रदर्शनमा आउन लागेको सिनेमा झिल्को विशेष छ ।

सिनेमाको सार्वजनिक पोस्टरमा सुनील पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकालको मनोदशा दर्शाउन खोजिएको छ । मोबाइलको दुव्र्यसनका कारण बालबालिकामा देखिने समस्या र त्यसले परिवार तथा समाजलाई पार्ने प्रभावको कथामा सिनेमा निर्माण भएको निर्देशक यादव भट्टराईले बताए । उनले यसअघि सामाजिक कथामा बनेका सिनेमा ‘झोला’ र ‘भोर’को निर्देशन गरेका थिए ।

निर्देशक भट्टराई ‘झिल्को’लाई अहिलेको समयको कथा मान्छन् । ‘आजको समयमा सबैभन्दा ठूलो कुलत नै मोबाइल फोन हो, जसको कुलतमा फसेर एउटा परिवारले कति संघर्ष गर्नुपर्छ भन्ने कथामा सिनेमा बनाएका छौं । प्रविधि भनेको आगो जस्तै हो । प्रयोग गर्न जाने चुल्हो बल्छ, नजाने डढेलो जसरी सल्किएर सबै तहसनहस पार्छ भन्ने कुरालाई हामीले देखाउने प्रयास गरेका छौँ’, निर्देशक भट्टराईले भने ।

मिडिया फर कल्चरको प्रस्तुतिमा निर्माण भएको सिनेमाको पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरुणदेव जोशी र देवव्रतले तयार पारेका हुन् । सिनेमामा चण्डीप्रसाद काफ्ले र दीपक शर्माको संगीत, दीपक बज्राचार्यको छायांकन तथा निमेश श्रेष्ठले सम्पादन छ ।

सुशीला आचार्य र रामगोपाल थापा निर्माता रहेको सिनेमाको कार्यकारी निर्मातामा उमेश पौडेल छन् । नेपाल प्रदर्शन अगावै सिनेमाको अमेरिका र क्यानडा प्रदर्शन अधिकारी बिक्री भइसकेको छ ।