फ्राईडे रिलिज : हलमा बहुप्रतिक्षित सिनेमा ‘कबड्डी कबड्डी कबड्डी’
Published On : 20 September, 2019 4:09 am
द सिनेमा टाइम्स, काठमाडौं – संविधान दिवस अर्थात असोज ३ गते शुक्रबारबाट वर्षकै बहुप्रतिक्षित सिनेमा ‘कबड्डी कबड्डी कबड्डी’ प्रदर्शनमा आएको छ । रामबाबु गुरुङको निर्देशनमा निर्माण भएको सिनेमालाई बिहिबार आयोजित प्रिमियर शोजमा उत्कृष्ट प्रतिक्रिया मिलेको छ । सिनेमाले देशभरका सयबढि सिंगल तथा मल्टिपेलेक्स पर्दामा आफ्नो बलियो उपस्थिति जनाएको छ ।
सिनेमाको एडभान्स बुकिङमा निकै रामो भएकाले पहिलो दिन डेढ करोड माथी ओपनिङ गर्ने अपेक्षा निर्माण टिम र सिनेमाकर्मीलाई छ । विहिबार बेलुकासम्म मल्टीप्लेक्सका सिट ६० देखि ८० प्रतिशतको बीचमा भरिएका छन् । ‘जात्रै जात्रा’को सफलता पछि सुस्ताएको सिनेमा बजारलाई ‘कबड्डी कबड्डी कबड्डी’ले उच्च विन्दुमा पुर्याउने संकेत देखाएको छ ।
मुस्ताङको नौरिकोटको कथा यस शृंखलामा पोखरा र घान्द्रुकसँग जोडिएको छ । स्वजातिय र अन्तरजातीय प्रेमकथामा आधारित सिनेमामा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, डा सिंह गुरुङ, शिला खनाल र मणि के राई जस्ता कलाकारको पनि अभिनय छ ।
सिनेमा आर्टको प्रस्तुतिसँग बाँसुरी फिल्मस् र माउन्टेन स्टोरिजले सहकार्यमा सिनेमा निर्माण भएको हो । निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेको कथामा मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारले लगानी गरेका छन् । भने, सह-निर्मातामा रुदेन सदा लेप्चा रहेका छन् ।
