‘रानी महल’ टिजर रिलिज, बाँकी छायांकन होला त पुरा ?
Published On : 16 May, 2020 6:39 pm
द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री निकिता चाण्डकले पहिलो पटक अभिनय गरेको सिनेमा ‘रानी महल’को टिजर सार्वजनिक गरिएको छ । फ्लोरमा निस्किएर २० प्रतिशत छायांकन पुरा नहुँदै यस सिनेमाको काम रोकिएको थियो ।

झन्डै दुई वर्ष पश्चात निर्माण पक्षले यसको टिजर सार्वजनिक गरेको हो । यो सिनेमाबाट हात झिकेपछि निकिताले अभिनेता विराज भट्टसँग ‘साङ्लो’मा काम गरेकी थिइन् ।
यहि सिनेमाबाट डेब्यु गर्न लागेका अर्का कलाकार शाहील श्रेष्ठको पनि ‘मिस्टर नेपाली’ रिलिज भैसकेको छ ।
१ मिनेट ४९ सेकेन्ड लामो टिजर सस्पेन्स बनाइएको छ । टिजरमा प्रेम, मित्रता र विश्वासघातको विषय उठाइएको छ । दीपक पौडेलले लेखेको पटकथा, संवादमा हिमाल न्यौपानेको निर्देशन छ ।
सिनेमामा निकिता र शाहीलसँगै प्रितमराज सेन्चुरी, मनश्वी खरेल, निर शाह, बि.एस राणा, अर्जुनजंग शाही, सुस्मिता केसी, रश्मी भट्ट र स्वर्गीय दीपक क्षेत्रीलगायतका कलाकार छन् ।
बिमल भुषालको लगानी रहेको सिनेमाको टिजर रिलिज भएपछी ‘रानी महल’को बाँकी छायांकन हुन् सक्ने अनुमान लगाउन सकिन्छ । तर, यस विषयमा निर्माण पक्षले केहि खुलाएको छैन ।
उसो त सिनेमासँग जोडिएका कलाकार र प्राविधिक अहिले अन्य काममा व्यस्त भैसकेका छन् । सम्पूर्ण टिमलाई पुन: छायांकनमा उतार्न निर्माण पक्षलाई सजिलो भने छैन ।
यसअघि अभिनेत्री वर्षा सिवाकोटी, अभिनेता प्रशान्त ताम्राकार र डेब्यु गर्न लागेका आशिष अधिकारीले सिनेमाबाट हात झिकेका थिए ।