‘नालापानी’लाई विशेष सिनेमा घोषणा गर्न आग्रह


द सिनेमा टाइम्स, काठमाडौं- रिमेश अधिकारी निर्देशित सिनेमा ‘नालापानी’ लाई विशेष सिनेमा घोषणा गरी आर्थिक सहयोग उपलब्ध गराउन सिनेमा सम्बन्धित संघ संस्थाहरुले सरकारसँग सिफारिस गरेका छन् ।चलचित्र विकास बोर्डले एक पत्रमार्फत फिल्मले ऐतिहासिक नालापानीको युद्धको कथावस्तुलाई उजागर गरी राष्ट्रिय गौरव, राष्ट्रिय प्रेम तथा देशभक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने हेतुले निर्माण भएकाले ‘नालापानी’ लाई प्रदर्शन, प्रचार प्रचार लगायतका पाटोमा सहयोग उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गरेको छ ।

त्यस्तै, चलचित्र कलाकार संघ, चलचित्र निर्देशक समाज, चलचित्र निर्माता संघ, चलचित्र प्राविधिक संघ र राष्ट्रिय विभुति वीर बलभद्र कुँवर प्रतिष्ठान नेपालले फिल्मलाई राष्ट्रिय विशेष चलचित्र घोषणा गरी आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् । फिल्मले उठान गरेको विषयवस्तुले अन्तर्राष्ट्रिय स्तरमा देशको गौरव बढाउने पनि पाँच संस्थाको पत्रमा उल्लेख छ ।

फिल्मका निर्माता तथा निर्देशक रिमेश अधिकारीले शुक्रवार चलचित्र विकास बोर्डसहित ६ वटा संस्थाले गरेको सिफारिस पत्र सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई बुझाएका छन् । राष्ट्रिय गौरवको कथामा फिल्म निर्माण भएकोमा खुसी व्यक्त गर्दै मन्त्री गुरुङले मन्त्रालयबाट हुने सहयोग गर्ने आवश्वास दिएका छन् । यो फिल्मको अहिले पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।

रिमेश अधिकारी फिल्म प्रोडक्सनको प्रस्तुति रहेको यस फिल्मलाई बिजिबि इन्टरटेनमेन्ट र गंगा नारायण फिल्म्सले सहकार्य गरेका छन् । निर्देशक रिमेश र कृष्ण आचार्यको लेखन रहेको सिनेमामा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पुजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीत बिष्ट, युग जंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बाल कलाकार तेजस्वी अधिकारी, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरु एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र साम लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्