हराएको छोरा खोज्न हिँडेका दम्पतिको कथा ‘पानीफोटो’ टिजर


द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता खगेन्द्र लामिछाने निर्देशित पहिलो सिनेमा ‘पानीफोटो’को टिजर सार्वजनिक गरिएको छ । बिहीवार सार्वजनिक भएको १ मिनेट ३२ सेकेन्ड लामो टिजरमा माओवादी जनयुद्धकालमा हराएको छोरा खोज्न हिँडेका एक दम्पतिको निराशा, पीडा, तनाव, दुःख र थकानलाई देखाइएको छ । टिजरमा अनुप बराल र मेनुका प्रधानको अभिनय र भिन्न गेटअपले मन छुन्छ ।

आगामी साउन १३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमामा अनुप र मेनुकाका अलावा खगेन्द्र लामिछाने, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपाल, अशान्त शर्मा, राधा श्रेष्ठ, अजस्र ढुङ्गाना, कमल देवकोटा, पुष्पा यादव, सुलक्क्षण भारती, टिकाभक्त जिरेल, अनोज पाण्डे, अनिल पाण्डे, अर्जुन पौडेल, नवराज गिरीलगायतको पनि अभिनय रहेको छ ।

माओवादी जनयुद्धको समयमा डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका बा-आमाको कथालाई प्रस्तुत गरिएको सिनेमाको काठमाडौं, बर्दिया, रोल्पा र स्याङ्गजामा छायांकन गरिएको हो । सिनेमालाई दीपक बज्राचार्यले छायांकन गरेका हुन् । सिनेमामा घनश्याम श्रेष्ठको आर्ट डिरेक्सन, निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन र पुष्पा संगमको पाश्र्व संगीत रहेको छ ।

टुकी आट्र्स र मन्जुश्री फिल्म्सले निर्माण गरेको सिनेमाको कथा खगेन्द्र स्वयंले लेखेका हुन् । रोजिना सिटौला र रविन्द्र बज्राचार्यले मिलेर सिनेमाको निर्माण गरेका हुन् । करीब डेढ दशकअघि गुरुकुलमा ‘पानीफोटो’ नाटक मञ्चन भएको थियो । त्यही नाटकलाई खगेन्द्रले सिनेमाको स्वरुपमा ढालेका हुन् । खगेन्द्रले सिनेमा निर्देशन गर्ने आफ्नो सपना पूरा भएकोमा खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्