नेपथ्यका अमृत गुरुङको स्वरमा ‘दोख’ शिर्ष गीत रिलिज


द सिनेमा टाइम्स, काठमाडौं – ‘नेपथ्य’का अमृत गुरुङले स्वर दिएको सिनेमा दोखको शिर्ष गीत ‘वन चरी उड्यो’ सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको गीत रिलिज गरिएको हो । आभाषको संगीत रहेको गीतको शब्द रचना श्रवण मुकारुङले गरेका हुन् ।

गीत सार्वजनिक कार्यक्रममा गायक गुरुङ पनि उपस्थित थिए । उनले भने, ‘सिनेमामा गाउँदिन भनेर बसेको थिएँ । नजिकको साथी अनुपले आग्रह गरेपछि उसकै लागि दोखमा गीत गाएको हुँ ।’ अनुप बराल निर्देशित सिनेमा दोखले द्वन्द्वकालमा सामुदायिक बनको मुद्धालाई लिएर दुईवटा गाउँबीचको किचलोको कथालाई सिनेमामा देखाइएको छ । यो सिनेमा निर्माणको ७ वर्षपछि सार्वजनिक प्रदर्शनमा आउन लागेको हो ।

राजन कठेत लिखित सिनेमामा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगरलगायतको अभिनय छ । सिनेमामा शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको सिनेमाको कार्यकारी निर्मातामा भीम न्यौपाने, ओम गुरुङ र रञ्जु वाग्ले थापा छन् ।

असार २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमाको एसोसियट निर्मातामा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल, युबराज भट्टराई छन् । गत वर्षको बैशाखमा सार्वजनिक गरिएको सिनेमाको ‘रातैले बुन्छ’ गीतले ठूलो प्रशंसा बटुलेको थियो । सिनेमालाई जिजिए ग्रुप र डिसीएनले काठमाडौंभित्र र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ ।

 

प्रतिक्रिया दिनुहोस्