पुष्प र श्रद्धा अभिनित ‘कृष्ण लीला’को ‘ए मेरो हजुर’ गीत रिलिज


द सिनेमा टाइम्स, काठमाडौं – दीपक वलीले निर्देशित लभस्टोरी सिनेमा ‘कृष्ण लीला’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ‘ए मेरो हजुर’ बोलको गीत रिलिज गरिएको हो । रवि ओड र सुनिता कार्कीको स्वर रहेको गीतमा डिआर उपाध्यायको शब्द रचना तथा बाबुल गिरीको संगीत, एरेन्ज, मिक्सिङ र मास्टरिङ छ ।

तिलिचो ताल र त्यसमाथिको क्षेत्रमा छायांकन गरिएको गीतको भिडियोमा सिनेमाका मुख्य अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्रीको केमेस्ट्री जमेको छ । गीतको अडियो पक्ष र भिडियोमा कोरियोग्राफी औसत देखिए पनि तिलिचोलाई हिउँले ढाकेको दृश्यले मन जित्छ । लोकेशनले भिडियोमा प्राण भरेको छ । भिडियोमा माइकल चन्दको कोरियोग्राफी र उत्सव दाहालको छायांकन छ ।

पुष्प र श्रद्धाका अलवा बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाई, आयुषा क्षेत्रीलगायतको अभिनय रहेको सिनेमामा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, बाबुल गिरी र अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ । सिनेमाका प्रस्तुतकर्ता रोहित कट्टेल हुन् ।

रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको सिनेमाको निर्मातामा प्रकाश राज कार्की र केवल तामाङ छन । पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह-निर्माताकको रुपमा रहेको सिनेमामा पुष्पले सुस्त मनस्थिति भएको युवकको भूमिका निर्वाह गरेका छन् । गत वर्ष सार्वजनिक भएको सिनेमामा समावेश ‘कुनै दिन’ बोलको रोमान्टिक गीत हिट भइसकेको छ । सिनेमा आगामी भदौ ३ गतेबाट नेपालभरका सिनेमाघरमा प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्