नरेन्द्रलाई महासचिव चयन गर्दै चलचित्र संघको कार्यसमितिले पायो पूर्णता


द सिनेमा टाइम्स, काठमाडौं – हल सञ्चालक र वितरकको छाता संस्था नेपाल चलचित्र संघको कार्यसमितिले पूर्णता पाएको छ । गत महिना भएको संघको ४७ औं साधारण सभाबाट अध्यक्षमा विरेन्द्र नारायण श्रेष्ठ सर्वसम्मतले चयन भएपनि सदस्यमा १३ जना चुनिएका थिए । निर्वाचित सदस्यहरुबाट नै कार्यसमिति पदाधिकारी चुन्ने संघको विधानअनुसार सोमवार सबै सदस्यहरुलाई पदीय जिम्मेवारी बाँडफाँड गरिएको हो ।

संघको बैठकले प्रथम उपाध्यक्षमा कुवेर शर्मा, द्वितीय उपाध्यक्षमा गोपालकाजी कायस्थ र तृतीय उपाध्यक्षमा भास्कर ढुंगानालाई मनोनित गरेको छ । संघको महासचिवको जिम्मेवारी नरेन्द्र महर्जनले पाएका छन् । उनी कीर्तिपुरमा रहेको कीर्तिपुर सिनेप्लेक्स र रञ्जना सिनेप्लेक्सका सञ्चालक हुन् । नरेन्द्र नेपाली सिनेमाको उपत्यका बाहिर बितरकको जिम्मा लिने कम्पनि एफडीमा सञ्चालक मध्येका एक हुन् ।

उपमहासचिवमा ओम जैसी र कोषाध्यक्षमा कपिलप्रसाद द्वा चयन हुँदा सदस्यहरुमा मिजास पोखरेल, निरज कार्की, गोविन्द शाही, चैतन्य बराल, युवराज प्रसाईं, प्रज्वल जबरा, सुरेन्द्रकुमार थापा, राजकुमार श्रेष्ठ र दिप्रश शाक्य मनोनित छन् । त्यस्तै, पूर्वाञ्चल समिति सभापतिमा निरज गुप्ता र पश्चिमाञ्चल समितिको सभापतिको जिम्मेवारी संघले केदारप्रसाद पराजुलीलाई सुम्पिएको छ ।

सुरेन्द्र कुमार थापाको सभापतित्वमा उपत्यका समिति पनि चुनिएको छ । जसमा दुर्गालाल प्रधान उपसभापति, सुरेन्द्र तण्डुकार सचिव र रितेश थकुलवट सदस्य छन् । संघले प्रदर्शन समितिको सभापतिमा प्रज्वल राणा र वितरण समितिको सभापतिमा गोविन्द बहादुर शाहीलाई चयन गरेको छ । राजकुमार पोखरेल, नकिम उद्दिन, प्रदीपकुमार उदय र अर्जुन श्रेष्ठ चलचित्र संघकको सल्लाहकारका रुपमा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्