महानायक हमाल र नीतिले उद्घाटन गरे ‘नेसनल सिनेमा एन्ड टीभी स्कुल’


द सिनेमा टाइम्स, काठमाडौं – महानायक राजेश हमाल, सिनेमामा डेब्यूको तयारीमा रहेकी मोडल नीति शाह र आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियरका निर्देशक तथा फेसन कोरियोग्राफर विपना थापा लगायतका कलाकारले नेसनल सिनेमा एन्ड टीभी स्कुलको उद्घाटन गरेका छन् ।

काठमाडौंको चावहिलमा खुलेको यो स्कुलमा सिनेमाका सम्पूर्ण विधा र व्यक्तित्व विकासको पढाइ समेत हुने जनाइएको छ । आयोजित भव्य जमघटमा कलाकारले भीवाईएफ टक्सको पनि शुभारम्भ गरे । उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा र अभिनेता पुष्प खड्काले पनि कलेज उद्घाटनमा साथ दिएका थिए । अभिनेता हमाल स्कुलका गेस्ट लेक्चर पनि हुने भएका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै हमालले सिनेमा अध्ययनतर्फ देखिएको युवापुस्ताको आकर्षणले सकारात्मक भविष्यको संकेत गर्ने बताए । ‘हाम्रो पालामा सिनेमा अध्ययन गर्ने औपचारिक स्कुल र कलेज थिएनन्,’ उनले भने, ‘युवापुस्ताको यो उत्साह सुखद छ ।’

भीवाईएफ टक्सका प्रमुख दशरथ सुनारका अनुसार उक्त स्कुलमा व्यक्तित्व र नेतृत्व सीपका कोर्सको पनि पढाइ हुने बताए । आइतबारदेखि नै स्कुलको औपचारिक सुरुवात भएको छ । केही वर्षमा त्रिभुवन विश्वविद्यालयको कोर्स पनि पढाइ हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्