मानव तस्करी प्रकरणमा नाम मुछिएपछि छानबिनको माग गर्दै सीआईबी पुगे आर्यन र केकी
Published On : 26 August, 2022 5:52 pm
द सिनेमा टाइम्स, काठमाडौँ – विदेशमा मानव तस्करी प्रकरणमा आफ्नो नाम मुछिएपछि अभिनेता आर्यन सिग्देल, अभिनेत्री केकी अधिकारी र निर्देशक दीपक आचार्यले प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) पुगेका छन् ।

कलाकारको आवरणमा आफ्नो नाम र कागजपत्रको दुरुपयोग भएको भन्दै त्यसमा संलग्न दोषीलाई कानुनी कारवाहीको माग गर्दै उनीहरु कार्यालयमा आएको सीआईबीका प्रवक्ता एसपी कमल थापाले जानकारी दिए ।
सिनेमा ‘तिम्रो नजर’ छायांकनका लागि केकी र आर्यनसहित १४ जनालाई नर्वे लैजाने भन्दै रोशन पराजुली नामका व्यक्तिले दिल्लीस्थित नर्वेजियन दूतावासमा भिसाका लागि आवेदन दिएका थिए । दूतावासले काठमाडौंस्थित पर्यटन बोर्डमा टेलिफोन गरेर बुझेपछि यो प्रकरणको खुलासा भएको थियो ।
मानव तस्करी प्रकरणमा आफ्नो नाम मुछिएपछि केकी, आर्यन र दीपकले फेसबुकमार्फत आफूहरुको संलग्नता नरहेको बताएका थिए ।
आजै बेलुकासम्म ब्युरोमा निवेदन दिने तयारीमा आफूहरु रहेको आर्यनले बताएका छन् । आर्यनसहितका कलाकारको राहदानी लगेर दिल्ली पुगेका पराजुली अहिले सम्पर्कबिहीन छन् ।