द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमा ‘झिँगेदाउ’ले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको छ ।

बुधबार सम्पन्न प्रिमियरमा सेलीब्रेटी, सिनेकर्मी र पत्रकारहरुको उल्लेख्य सहभागिता रह्यो ।
ज्ञानेन्द्र देउजा निर्देशित सिनेमाले प्रिमियरपछि उत्कृष्ट प्रतिक्रिया बटुल्यो । प्रायले सिनेमाको कथाबस्तु, प्रस्तुति, कलाकारको अभिनय र निर्देशकीय पक्षको तारिफ गरे ।
भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा आधारित सिनेमाले दाजु-भाई र देउरानी-जेठानीको झमेलाको कथा भन्छ ।
प्रदीप भारद्वाजले लेखेको सिनेमामा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल बिष्ट, हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतको अभिनय छ ।

सिनेमाको बारेमा कसले के भने ?
मिथिला शर्मा (अभिनेत्री)
भीमनिधि तिवारीको कथालाई अझै न्याय गरेको पाएँ । यसमा बहिनि हिउँवालाको तपस्या र साधना छर्लंग देखिएको छ । ज्ञानेन्द्र भाई एउटा उत्कृष्ट सिनेमा बनाउने मान्छे हो । हाँस्दा हाँस्दै रोएको पत्तै पाएन । सबैको घर परिवारको कथा हो । सबैले हेर्नै पर्ने सिनेमा ।
आकाश अधिकारी (निर्देशक/निर्माता/कलाकार)
निर्देशकले आफुले पाएको कथालाई आफ्नो पनमा ढाल्नु भएको छ । सामाजिक र पारिवारिक कथा एक पटक फेरि फर्किएर आएको छ । यस्तो खालले घटना अहिलेपनि यथावत नै छन् । बृद्धआश्रमको अन्तिमको दृश्यले मलाई पनि रुवायो । प्रत्येक नेपालीले हेर्नु पर्ने सिनेमा ।
नरेश पौडेल (कलाकार/निर्देशक)
‘मेरो लागि मुख्य अभिनेत्री हिउँवाला गौतम हो । उहाँले निक्कै राम्रो अभिनय गर्नु भएको छ । आँखा रसाए मेरा । सबैको अभिनय राम्रो छ । आयन खड्का जीले निगेटिभ भूमिकामा आफुलाई प्रमाणित गरेका छन् । निर्देशकले सिनेमाको राम्रो कमाण्ड गर्नु भएको छ । शतप्रतिशत मौलिक सिनेमा भन्न चाहन्छु ।
रमेश उप्रेती (अभिनेता)
सिनेमाले मनमा छोयो । अलिकति पुरानो भएपनि एकदमै मौलिक लाग्यो । छोरा-छोरी, आमा-बुबा सबैको मनमा बस्ने सिनेमा बनेको छ । हेर्दा पैसा खेर जादैन ।
भुवन केसी (अभिनेता)
झिँगेदाउ पारिवारिक लाग्यो । मनोरंजन छ । रमाइलो छ, भावुक बनाउछ । कलाकारहरुको काम उत्कृष्ट छ । परिवारले हेर्न मिल्ने एउटा उत्कृष्ट सिनेमा बनाउनु भएको छ ज्ञानेन्द्र देउजाले । सबैले हेर्नु पर्ने सिनेमा ।
दीपाश्री निरौला (कलाकार/निर्देशक)
सुपर लाग्यो सिनेमा । धेरैपछि एउटा मौलिक सिनेमा हेर्न पाइयो । साच्चै भन्ने हो भने मसंग शब्द नै छैन । त्यति राम्रो सिनेमा बनेको छ ।
दीपकराज गिरी (अभिनेता/निर्माता)
आमा र सन्तानबीचको सम्बन्ध दर्साएको छ । प्रिमियरपछि म क्यामेराबाट भाग्ने गर्थ्ये । तर आज आफै क्यामेरा भएतिर आएर बोल्न मन लाग्यो । यति राम्रो सिनेमा खेर नजाओस् । प्रस्तुति एकदमै मौलिक छ । गाउँ घरका याद ताजा गराउछ । सिनेमाले अल्छी लगाउदैन । पैसा खेर जादैन । हेर्दा आनन्द आउछ ।
रीमा विश्वकर्मा (अभिनेत्री)
ज्ञानेन्द्र सर जस्तो निर्देशकबाट एक लेभलको सिनेमा आउछ भन्ने कुरामा विश्वस्त थिएँ । उहाँले प्रमाणितपनि गर्नु भयो । मलाई एक पटक हेरेर पुगेन । परिवारसहित एक पटक हेर्न जान्छु । मेरो भाई-बहिनि र आमालाई लिएर हेर्न जान्छु ।
स्वस्तिमा खड्का (अभिनेत्री)
कलरफुल, रमाइलो किसिमको मौलिक सिनेमा लाग्यो मलाई । पछिल्लो समय दर्शकले मिस गरिरहेको मनोरंजन यस सिनेमामा पाउनु हुनेछ । फरक प्रस्तुतिको मौलिक सिनेमा भन्न चाहन्छु । केकी दिदिको अभिनय अगाडीदेखि नै फ्यान हो । आँचलले सरप्राइज दिनु भयो ।
प्रिमियरपछि पाहुनाले दिएको प्रतिक्रियाले सिनेमाका मुख्य कलाकार केकी, आँचल, मुकुन, कुशललगायतले खुसि व्यक्त गरे । साथै सिनेमा रिलिजको लागि उत्साहित भएकोपनि बताए ।
सिनेमा भदौ १७ देखि अलनेपाल प्रदर्शनमा आउदैछ ।
तस्विर: ज्ञानु राई